मधेश

सरोजकुमार यादवको राजनीतिक यात्रा

गाविस अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्री

इकागज |
पुस २८, २०७९ बिहीबार १०:३८ बजे

धनुषा - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन् । यसअघि मधेश प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन् ।

विसं २०३० मा जन्मिका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्र भारत बिहारका नेतासँग उनको राम्रो सम्बन्ध छ । गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उनको परिवारको योगदानको चर्चा हुने गर्दछ । 


धनाढ्य परिवार (जमिन्दार) का उनका स्व पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव थिए । जसपा, लोसपा, सद्भावना लगायतका मधेश केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी) सम्म अध्ययन गरेका छन् । 

२४ वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनले राजनीतिक यात्रा थालेका थिए । विसं २०५९ सम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल भएका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थिए । तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी भएका थिए । 

त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए ।

विसं २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भउका थिए । विसं २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेश प्रदेशका सभामुख बनेका थिए ।

मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गरेका थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन ।

यादवले चार हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी भएका हुन्। यसरी पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसकेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री बनेका हुन् । रासस


Author

थप समाचार
x