मधेश

'सीप सिकाएर सुरक्षित वातावरणमा मात्र महिलालाई वैदेशिक रोजगारमा पठाऔँ'

सुभाष कर्ण |
माघ १०, २०७९ मंगलबार १९:४ बजे

जनकपुरधाम- वैदेशिक रोजगारमा जाने महिलामाथि हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्न नीति नियममा परिवर्तन गरी सीप सिकाएर सुरक्षाको प्रत्याभूति भए मात्र पठाउनु पर्नेमा जोड दिइएको छ ।

मंगलबार जनकपुरधाममा राष्ट्रिय महिला आयोगद्वारा आयोजित वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।


कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले नीति नियममा परिवर्तन गर्दै वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिलाई सीप सिकाएर मात्र पठाउनुपर्ने बताए । उनले भने, 'वैदेशिक रोजगारीमा पुरुषभन्दा महिलाहरू बढी ठगिने गर्दा हिंसा र दुर्व्यवहारको सिकार हुनु परिरहेको अवस्था छ ।'

उपप्रमुख साहले वैदेशिक रोजगारीमा पुरुषभन्दा महिलालाई बढी चुनौती रहेकाले तिनीहरूलाई सीप सिकाएर दक्ष बनाएर सुरक्षित वातावरण भए मात्र सरकारले पठाउन इजाजत दिनुपर्ने बताए । वैदेशिक रोजगारमा जाने महिलाका लागि पहिला त्यस देशको भाषा, संस्कार र संस्कृतिको बारेमा जानकारी लिएर र कुन कामका लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने सुझाव उनले दिए ।

कार्यक्रममा धनुका प्रहरी उपरीक्षक विश्वराज खड्काले विभिन्न म्यानपावर र एजेन्सीबाट बढी ठगीको घटना भइरहेकाले यसप्रति सुरक्षा निकायदेखि सम्बन्धित निकायले राम्ररी चेकजाँच गरेर मात्रै पठाउनुपर्ने बताए । उनले म्यानपावर र तिनका एजेन्टहरूले मापदण्ड पूरा नभएका व्यक्तिहरूको पनि डुप्लीकेट कागजातहरू तयार गरेर पठाउने गरेका कारण वैदेशिक रोजगारमा गएकाहरू समस्या भोग्न बाध्य रहेको उल्लेख गरे ।

कार्यक्रममा सुरक्षित आप्रावासनकी कौशिल्या देवीले वैदेशिक रोजगारमा महिलाहरूलाई खेप्नु परेको समस्याबाट उन्मुक्तिभन्दा स्वदेशमा सीपमूलक रोजगारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहासमा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको उल्लेख गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख संगीतादेवी ठाकुर, मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, राष्ट्रिय मानव अधिकार आयोगकी रेखा दत्त, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, पत्रकार अजय झा, सन्तोष कर्ण, महिला अधिकारकर्मी शिला झालगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा सुझाव दिएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x