मधेश

मधेशका बिनाविभागीय मन्त्रीको कार्य विभाजन : भौतिकमा सरोज, अर्थमा संजय र कृषिमा बसन्त

सुभाष कर्ण |
माघ १२, २०७९ बिहीबार १९:३५ बजे

जनकपुरधाम- मधेश प्रदेशका तीन जना बिनाविभागीय मन्त्रीको कार्य विभाजन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तीन जना बिनाविभागीय मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् ।

नेकपा एमालेका तर्फबाट मन्त्री बनेका एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका सञ्जयकुमार यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवकै जिम्मेवारीमा रहेका विज्ञप्तिमा भनिएको छ ।

हुनत यसअघि सत्ता साझेदारको संसदीय दलको बैठकबाट जनमत पार्टी सामाजिक विकास मन्त्रालय दिइने सहमति भएको थियो । तर, सो सहमति विपरीत मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा जनमत पार्टीका कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x