मधेश

जनप्रतिनिधि र कर्मचारीको विवादका कारण हरिपुर्वाको कामकाज ठप्प

इकागज |
माघ १५, २०७९ आइतबार १९:५७ बजे

सर्लाही- कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो ।

केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुर्व्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए । उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो । 


नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन् ।

कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए । उनका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए ।

नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए । उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो ।

जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुर्व्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरेको हरिपुर्वा नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रमोद यादवले बताए । उनले आफूहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताए । रासस


Author

थप समाचार
x