मधेश

संक्रमण नियन्त्रण गर्न बुधबारदेखि महोत्तरीमा पनि निषेधाज्ञा

सुभाष कर्ण |
बैशाख २०, २०७८ सोमबार १०:४४ बजे

जनकपुरधाम : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि प्रदेश-२ को महोत्तरी जिल्लामा पनि बुधवारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकबाट बढदै गएको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको दर अत्यधिक बढेसँगै केही व्यक्तिको मृत्यु समेत भएको अवस्थामा संक्रमणको ‘चेन ब्रेक’ गरी न्यूनीकरण तथा रोकथाम गर्न सरकारको निर्णय अनुसार केही समय निषेधाज्ञा जारी गर्नुपरेको जानकारी दिए । प्रजिअ भट्टराईका अनुसार, नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार महोत्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको हो ।


जिल्लाका सबै स्थानीय तहहरूले आफ्ना विरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम रुपमा २०/२० थान खरिद गरी व्यवस्थापन गर्न निर्देशनका साथै थप सिलिण्डर व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।

विवाह, व्रतवन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र उक्त प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारी-साधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोर-मैला व्यवस्थापन, खाद्यान्‍न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दाना लगायत दुवानीका सवारी-साधन प्रयोग गर्न सकिन्छ । 

त्यसअतिरिक्त आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी-साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x