मधेश

'अवैध सम्बन्ध राख्‍न' दबाब दिएको आरोप

प्रदेश-२ दलित विकास समिति उपाध्यक्षविरुद्ध सदस्यकै उजुरी

सुभाष कर्ण |
बैशाख २०, २०७८ सोमवार १३:१५ बजे

जनकपुरधाम : प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन् । ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन् ।

दासले चरित्र हत्या गरेको र समाजिक सञ्‍जाल मेसेन्जरबाट अपशब्द प्रयोग गरेको भन्दै पक्राउ गर्न बैठाविरुद्ध उजुरी दिएकी छन् । दलित समितिमा चयन भएको अवसरमा शपथ ग्रहणको लागि आमन्त्रित गर्दै उपाध्यक्ष बैठाले गएको चैत ९ गते राति ११ बजेतिर चरित्र हत्या हुने गरी अवैध सम्बन्ध राख्‍न मेसेन्जरमा प्रस्ताव गर्दा आफूले अस्वीकार गरेपछि लज्जित हुने खालका अभद्र गालीगलौज गरेको दासले आफ्नो उजुरीमा उल्लेख गरेकी छन् । 


पार्टीले कुनै चासो नलिएपछि आफू प्रहरीमा जानु परेको दास बताउँछिन् । उनी भन्छिन्,‘नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेका बेला एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिले महिलामाथि गलत नियत राख्नु गलत रहेको र मनोवल गिराउने काम गरेकाले कारवाही गर्न पार्टीभित्र माग गर्दा पनि कुनै चासो नलिएपछि म बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ ।’ 

आयोगका उपाध्यक्ष बैठा र सदस्य दास दुवै सत्तारुढ जनता समाजवादी पार्टीबाट चयन भएका हुन् । बैठा तात्कालीन राजपाको कोटाबाट आएका हुन् भने दास समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी हुन् ।

दासले आरोपी बैठाको यस्तो गलत क्रियाकलापले आफ्नो दाम्पत्य जीवनमासमेत धरापमा पर्न लागेको भन्दै आरोपीलाई तत्काल पक्राउ गरेर घटनाको छानबिन गर्न पनि गर्न माग गरेकी छन् । दुवैबीच भएको मेसेन्जर संवाद पनि बाहिरिएको छ । उक्त संवादमा दुबैबीच चर्काचर्की भएको देखिन्छ । 

शपथ ग्रहणका बेला मेसेन्जरमा भइरहेको कुराकानीको क्रममा विवाद बढेको देखिन्छ । उपाध्यक्ष बैठाले दासलाई औकातमा रहेर कुरा गर्न चेतावनी दिँदै अपशब्द प्रयोग गरेका छन् ।

इकागजसँग कुरा गर्दै दासले भनिन्,‘हामीबीच २/३ वर्षदेखि सामान्य चिनजान थियो, उसले सुरुदेखि गलत नियत राखेर फोन र विभिन्न कार्यक्रममा कुरा गर्दै आएको थियो, त्यसलाई मैले बेवास्ता गर्दै आएकी थिए ।’

तर, दलित आयोगमा दुवैजना नियुक्त भएपछि विभिन्न बहानामा आफूलाई फोन र मेसेन्जरमार्फत् अवैध सम्बन्ध राख्ने खालका कुरा गर्दै आएको दास आरोप लगाउँछिन् । उनी भन्छिन्,‘यही क्रममा शपथग्रहणका लागि आमन्त्रणको बहानामा चैत ९ गते राति त हदै पार गरिदियो, अवैध सम्बन्धको प्रस्ताव राख्दा आफूले अस्वीकार गरेपछि अभद्र गालीगलौज गर्‍यो ।’ 

बैठाको यो क्रियाकलापले आफ्नो घर परिवारको सम्बन्धसमेत बिग्रिन थालेको छ र आफ्नो दाम्पत्य जीवनसमेत धरापमा पर्न लागेको दास बताउँछिन् । अर्कोतर्फ उपाध्यक्ष बैठाले मेसेन्जरमा आफूले दासलाई गालीगलौज गरेको स्वीकार गरे पनि अवैध सम्बन्ध राख्ने कुनै प्रस्ताव नगरेको बताउँछन् । 

‘मेहेनती र जुझारु महिला भएको कारण आफैले उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिस गरेको थिएँ, आफूलाई विभिन्न बहानामा तनाव दिदै आएको कारण कुराकानीको क्रममा अपशब्द प्रयोग हुन गएको हुँ’, बैठा भन्छन् । 

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरिक्षक तपन दाहालले बैठाविरुद्ध उजुरी दर्ता भएको जानकारी दिएका छन् । उनी भन्छन्,‘हामीले घटनाबारे छानबिन गरिरहेका छौँ, दुवै पक्षलाई बोलाएका छौँ, वार्ताको माध्यमबाट समाधान गर्न खोज्छौँ नभए काननी प्रक्रियामा अघि बढछौँ ।’ 

दासले ईलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी :


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x