मधेश

स्वच्छता अभियानमा भ्रष्टाचार भएको मुख्यमन्त्री यादवको दाबी

सुभाष कर्ण |
फागुन ५, २०७९ शुक्रवार २०:३७ बजे

जनकपुरधाम- मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचार भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दाबी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार मुख्यमन्त्रीको आफ्नै कार्यक्रम स्वच्छता अभियानमा भएको दाबी गरेका हुन् ।


'स्वच्छता अभियानमै भएको भ्रष्टाचारले प्रदेश सरकार बनायो । तर, ती भ्रष्टाचार मन्त्री होइन कर्मचारीले गरेको पाइएको छ,' उनले भने, 'सरकारका मन्त्रीहरूको काम योजना बनाउने र योजना अनुसारका बजेट विनियोजन गर्ने, तर त्यसलाई कार्यान्वयन गर्ने प्रमुख हो कर्मचारी, तिनीहरूबाट नै भ्रष्टाचार भएको हो ।'

आफूले स्वच्छता अभियानको फाइलहरू मगाएर हेरेकाे र अधिकांशमा भ्रष्टाचार भएको पाइएको उनकाे भनाइ छ । योजना अनुरूपको बजेट विनियोजन भइसकेको तर काम कहीं डिपीआरमै त कहीं टेण्डर भई कार्यकै चरणमा रहेका कामहरू पनि गुणस्तरीय नरहेको गुनासो आइरहेको उनले सुनाए । 

भ्रष्टाचारकै चर्चाका क्रममा मुख्यमन्त्री यादवले संघीय सरकारले निजामती ऐन निर्माण र प्रहरी प्रदेश सरकारको जिम्मा लगाई दिए भने आफू २४ घण्टाभित्र भ्रष्टाचार अन्त्य गर्ने दाबी समेत गरे । उनले भने, 'भ्रष्टाचारको मूल जड नै कर्मचारी हो । तरऽ आफूसँग न त निजामती ऐन र न प्रहरी नै छ । यसमा हामी केही गर्न सक्दैनौं, यी कार्य संघीय सरकारले पुरा गरिदिए कहीं कतै भ्रष्टाचार हुन दिन्नँ । त्यस्तो अवस्थामा भ्रष्टाचार भएको भए आफूसँग प्रश्न गर्नु होला ।' 

प्रदेश नं. २ को नाम मधेश र राजधानी जनकपुरधाम आफ्नै एकल प्रयासले भएकाे उनकाे दाबी छ । तर, जनकपुरधाम अहिलेसम्म नामको राजधानी मात्रै भएकाे र एक वर्षभित्रै विकासको राजधानी बनाउने उनले बताए ।

कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का सांसद जुली महतोले आफूहरूसँग सबै श्रोत साधन उपलब्ध भए पनि आर्थिक संकट खेपिरहेकाे बताइन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक विकासमन्त्री सुरिता साह, प्रदेश सभा सदस्य रामआशिष यादव, दिपेन्द्र ठाकुर, प्रहरी उपरीक्षक बसन्तबहादुर खड्का र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतका वक्ताहरूले पनि आ-आफ्ना धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x