मधेश

धनुषाका एक मेयर र तीन उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

सुभाष कर्ण |
बैशाख २१, २०७८ मंगलबार १८:४७ बजे

जनकपुरधाम : रौतहटका स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोधेको एक हप्तापछि नेकपा माओवादी केन्द्रले धनुषाको एक मेयरसहित तीन जना उपमेयरगरी चार जनालाई स्पष्टीकरण सोधेको छ ।स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका धनुषाको विदेह नगरपालिकाका मेयर,  उपमेयर,  सबैला नगरपालिकाका र शहीदनगर नगरपालिकाका उपमेयरलाई पार्टीको गतिविधिमा सहभागिता नदेखिएको र विधानविपरीत कार्य गरेको भन्दै ३ दिने अल्टिमेटम सहित स्पष्टीकरण सोधेको हो ।

धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास तत्मा तथा उपप्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाकी उपप्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई २० गते ३ दिने स्पष्टीकरण सोधिएको माओवादी धनुषाका सचिव दिपक यादवले बताए।


२०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले पार्टी पुर्ववत अवस्थामा फर्किएका थिए । त्‍यसपछि माओवादी केन्द्रबाट जितेका केही जनप्रतिनिधि नेकपा एमालेको कार्यक्रममा सहभागी हुँदै आएको पाइएपछि केन्द्रीय निर्णयअनुसार स्पष्टीकरण सोधिएको सचिव यादवले बताए ।

पार्टी पूरानै अवस्थामा फर्के पनि पार्टीका कार्यक्रममा किन सहभागी नभएको ? आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशिलता के–कति कारणले नदेखिएको ? माओवादी केन्द्र परित्याग गरेको हो वा होइन ? भनी तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न जिल्ला ईन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दिपक यादवद्वारा संयुक्त रुपमा जारी स्पष्टीकरण पत्रमा भनिएको छ ।

केही वडा अध्यक्षहरुलाई समेत स्पष्टीकरण सोधिएको बताउंदै सचिव यादवले भने तिनीहरु मध्ये केहीले स्पष्टीकरण बुझाइ सकेको छ । अल्टिमेटम समयावधि भित्र पार्टीको चित बुझ्दो स्पष्टीकरण नदिएको अवस्थामा पार्टीले कारवाही प्रक्रिया अघि बढाउने सचिव यादवले बताएका छन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x