मधेश

पीडामा स्वास्थ्यकर्मी : जोखिमबारे भनिसाध्य छैन, जोखिम भत्ता नै बेपत्ता

भएकाले तलब भत्ता पाएका छैनन्, नयाँ स्वास्थ्यकर्मी भर्ना गर्दै प्रदेश-२ सरकार

सुभाष कर्ण |
बैशाख २३, २०७८ बिहीबार १३:१२ बजे

जनकपुरधाम :  नयाँ भेरिएन्टसहितको कोभिड-१९ को संक्रमण तीब्र रूपमा फेलिरहेको बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीले पूरानो बक्यौता तलब र जोखिम भत्तासमेत पाएका छैनन् । पहिलो लहरको संक्रमणका क्रममा प्रदेश २ का विभिन्‍न कोभिड अस्पताल र आइसोलेशनमा खटिएका चिकित्‍सक, स्‍वास्‍थ्‍यकर्मी र करारमा भर्ना गरिएका कर्मचारीले अझैंसम्‍म पनि तलब तथा जोखिम भत्‍ता पाएका छैनन् ।

करारमा खटाइएकोहरूको ४ महिनाको तलब र ५ महिनाको जोखिम भत्ता तथा स्थायी दरबन्दी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंसिर महिनाको तलब र ५ महिनाको जोखिम भत्ता नपाएको बताएका छन् ।अहिले दोस्रो चरणको संक्रमण तीब्ररर गतिमा फेलिरहेका बेला सरकारले ४१७ स्वास्थ्यकर्मी थप गर्ने निर्णय गरेको छ । तर,  स्वास्थ्यकर्मीहरूको पूरारै बक्यौता रकम  भुक्तानी भएको छैन । जोखिममा काम गरेको तल र भत्‍ता नदिदाँ अहिले काम गर्न समेत गाह्रो भएको उनीहरूले बताउन थालेका छन् । 


स्वास्थ्यकर्मीहरूकै पूरानो तलब र जोखिम भत्ता भुक्तानी विवादका कारण यस पटक प्रदेश २ मा कोभिड अस्पताल र आइसोलेशन कक्ष संचालन हुन सकेको छैन । पछिल्लो पटक निर्माण गरिएका कोभिड अस्पताल तथा आइसोलेशन कक्ष स्वास्थ्यकर्मी आभावकै कारण हालसम्म संचालन हुन नसकेको सम्बन्धित निकायले बताउँदै आएका छन । 

महोत्तरीस्थित जलेश्वर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. शतिश साहले गतवर्ष खटाइएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब र जोखिम भत्ता भुक्तानी हुन नसकेको कारण अस्पतालको कोभिड वार्डमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्नबाट हिच्किचाई रहेको बताए । समाजिक विकास मन्त्रालयलाई पटक-पटक जानकारी गराए पनि हालसम्म भुक्तानी नभएको उनले बताए । 

'केही दिनअघि प्रदेश कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकमा बक्यौता रहेको तलब र जोखिम भत्ता चिकित्सकहरूलाई चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ',  उनले भने, 'तर अहिलेसम्‍म भएको छैन।  हेरौं कहिलसम्म हुन्‍छ ।' हुनत सो अस्पतालमा अहिलेसम्म संक्रमितको उपचार सुरु हुन सकेको छैन । दुई/तीन दिनभित्र उपचार सुरु गरिने मेसु डा. साहले बताए । 

प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पहिलो लहरमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीको बक्यौता रहेको तलब तथा जोखिम भत्ता भुक्तानी गर्न नसकिएको कारण काम गर्न समस्या भएको बताए । 'स्वास्थ्यकर्मीहरूको तलब र जोखिम भत्ता मात्रै होइन अन्य शीर्षकको पनि बक्यौता रकम सरकारले उपलब्ध गराएको छैन,' उनले भने, ' जसका कारण काम गर्न निकै समस्या भएको छ ।'
उनले पहिलो चरणमा खटिएका  स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई अहिलेसम्म खटाएका काममा नखटाइएको बताए । केहीलाई भने पनि काम गर्न नमानेको उनले बताए । प्रदेश सरकारलाई पटक-पटक आग्रह गरे पनि कुनै चासो नलिएको गुनासो उनले गरे । 

प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोभिड अस्पताल र विभिन्न आइसोलेशनमा मात्रै १0२ जना स्वास्थ्यकर्मी खटाइएको थियो । तिनीहरूमध्ये स्थायी स्वास्थ्यकर्मीहरूको ५ महिनाको जोखिम भत्ता र मंसिर महिनाको तलब बक्यौता रहेको प्रादेशिक अस्पतालमा कार्यरत डा. मनोज मण्डलले बताए । 
 
'पूरानो बक्यौता भुक्तानीका लागि हामीले प्रदेश सरकारलाई ज्ञापन पत्र समेत बुझाएको र आन्‍दोलनसमेत गरेपनि हालसम्म पाउन नसकेको गुनासो डा. मण्डलले गरे ।  'पूरानो बक्यौता रकम भुक्तानी र नयाँ दरबन्दीमा स्पष्ट रूपमा कति दिनका लागि काम गर्ने तथा कति भत्ता दिने कागजी सम्झौता नभएसम्म काम गर्न गाह्रो छ ।'
 
हाल महोत्तरीस्थित मटिहानी स्वास्थ्य चौकीमा कार्यरत डा. दिपेन्द्र साहले पनि पूरानो भुक्तानी नभएसम्म काम गर्न गाह्रो भएको बताए । पूरानो बक्यौता भुक्तानी र नयाँ दरबन्दी स्पष्ट रूपमा उल्लेख गरी कागजी आधार दिए मात्रै काम गर्न सकिने उनको भनाइ छ । 'अस्पतालले बोलाएको बैठकमा पनि हामी कुरा राखिसकेका छौं,' उनले भने, 'अहिलेसम्म स्पष्ट जवाफ आएको छैन । हामी प्रतिक्षामा छौं ।'

पूरानो भुक्तानी बाँकी रहेको अवस्‍थामा प्रदेश सरकारले फेरि संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी नियुक्त गर्ने कुरा गलत भएको
हेल्थ असिस्टेन्ट मुकेशकुमार सिंहले बताउँछन । 'ज्यान जोखिममा राखेर महिनौं दिन अस्पतालमा बसेर हामीले काम गर्‍यौ । तर पूरानौ तलबभत्ता भुक्तानी नगरी प्रदेश सरकारले फेरि काममा बोलाएपछि अन्योलमा परेको छु,' उनले भने ।
 
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सामाजिक विकास मन्त्रालयका सचिवले भुक्तानी अड्काइदिँदा स्वास्थ्यकर्मीलाई समयमै तलबभत्ता दिन नसकिएको जिकिर गरे । हालै मन्त्रिपरिषद्स्तरीय निर्णय गरेर भुक्तानी प्रक्रिया अगाडि बढिसकेको उनले बताए । 

यता प्रदेश सरकारका मुख्य सचिव गोकर्णमणि दुवाडीले भने पूरानो तलब भुक्तानीका लागि सरकारले छलफल गरिरहेको बताए । 'जोखिम भत्ता हामीले होइन संघ सरकारले भुक्तानी गर्ने हो,' उनले भने, 'हामीले संघ सरकारले पत्रचार गरिसकेका छौं । त्यहाँबाट आएपछि मात्रै भुक्तानी गर्न सकिनेछ ।'
 
गएको चैत १२ गते प्रदेश सरकारविरुद्ध बक्यौता भुक्तानीको माग गर्दै कोभिड अस्पताल तथा आइसोलेशनमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी र टेक्निसियनहरूले सडक जामगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिदैं आन्दोलन नै गरेका थिए । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरूको समूहले गएको माध २७ गते मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र समेत बुझाएको थियो । 

प्रदेश २ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेशका आठ वटै जिल्लामा महामारीको समयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन गरी २०७७ असार मसान्तसम्मका लागि नियुक्त दिई करारमा खटाईएका स्वास्थ्यकर्मीलाई पुनः आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयले थपिएको अवधिको स्थायी स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मंसिर महिनाको तलब र जोखिम भत्ता तथा करारमा खटिएका स्वास्थ्यकर्मीहरूको चार महिनाको तलब तथा ५ जोखिम भत्ता भने अहिलेसम्म उपलब्ध गराउन सकेको छैन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x