१५ दिनको धार्मिक यात्रा गर्दै परिक्रमा टोली पुगे जनकपुरधाम
जनकपुरधाम - विश्वकै सबैभन्दा लामो दूरीको धार्मिक यात्राको रूपमा मिथिला मध्यमा परिक्रमा टोली १५ दिनको यात्रा गर्दै सोमबार पुनः जनकपुरधाम पुगेका छन् । जनकपुरधामको हनुमानगढीबाट शुरू भएको परिक्रमा टोली नेपाल भारतको १५ वटा धार्मिक स्थलहरूको भ्रमण गर्दै पुनः जनकपुरधाम फर्केका हुन् ।
परिक्रमा यात्रीहरु प्रदेशसभा नजिकको हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा र मठमन्दिरहरुमा बास बसेका छन् । सोमबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् । त्यसपछि यात्री तथा श्रद्धालुहरु घर फर्किने छन् ।
यही फागुन ८ गते धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमानगढी पुगेर विधिवत् सुरु भएको थियो । सो परिक्रमामा लाखौभन्दा बढी नेपाल भारतका साधु सन्त तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो ।
हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेको छ । माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तर गृह परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । परिक्रमामा सहभागीहरू नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गरेका छन् । एक सय २८ किल्लो मिटरमा १५ वटा विश्रामस्थल छन् । यी सबै ठाउँहरुमा विशेष देवताका थानहरु छन् । सो विश्रामस्थलमा परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरु अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन् ।
ठाउँ ठाउँमा स्वास्थ्य शिविर, भण्डारालगायत सामानको व्यवस्था पनि गर्दछन् । परिक्रमाको अन्तिम दिन जनकपुरधाममा लगभग ८ किमी नगर वरिपरि परिक्रमा गरिन्छ । त्यसपछि परिक्रमाका यात्रीहरु घर फर्किन्छन् र फर्केको भोलिपल्ट होली मनाउने गर्छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया