मधेश

जनकपुरधामको राराब क्याम्पसमा ३६.९० प्रतिशत मतदान

इकागज |
चैत ५, २०७९ आइतवार १८:१७ बजे

जनकपुरधाम। देशभरसहित जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न भएको छ । 
स्ववियुको नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको छ । राराबमा कूल ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा जम्मा २ हजार ६६२ मात्र मतदान भएको निर्वाचन अधिकृत रेमन्त मौरवैताले जनाएका छन्। कडा सुरक्षाका बीच शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा ३६.९० प्रतिशत मतदान भएको उनले बताएका छन् । 

निर्वाचनमा दलीय चासो भए पनि विद्यार्थीमा खासै उत्साह देखिएको छैन । संगठनसँग आबद्ध विद्यार्थीहरु मात्र मतदानमा सहभागिता जनाएको खसेको मत संख्याबाट प्रष्ट भएको देखिन्छ । मतदान अवधिभर विभिन्न राजनीतिक दलका पूर्वमन्त्री र प्रदेश सांसददेखि केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो । तिनीहरु आ आफ्ना उम्मेदवारको पक्षमा माहौल बनाउन बिहानैदेखि क्याम्पस अगाडि सक्रिय देखिएका थिए । 


सभापति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट समाजवादी विद्यार्थी युनियनका गौतम यादवले उम्मेदवार रहेका छन् । संयुक्त गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।

त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् । राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।

लोसपा विद्यार्थी संघबाट सभापतिका उम्मेदवार प्रशान्त झाले प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनका कारण विद्यार्थीहरू खासै उत्साह नदेखिएको बताए ।

नेवि संघबाट सभापतिका उम्मेदवार मनिषकुमार यादवले पनि राजनीतिप्रति विद्यार्थीहरुको खासै चासो नरहेको कारण मतदान संख्या कम हुन गएको बताए । स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको राजनीतिप्रति खासै चासो देखिएको उनको भनाई छ । 

विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।
 


Author

थप समाचार
x