प्रादेशिक अस्पतालकै बेहाल
५ वटा भेन्टिलेटरमध्ये एउटा मात्रै सञ्चालनमा
जनकपुरधाम : प्रदेश २ स्थित प्रादेशिक अस्पतालको भेन्टीलेटर बिग्रेर थन्किएको छ । सरसफाई अभावमा अस्पताल दुर्गन्धित छ । कोभिड विशेष भनिएको अस्पतालमा हप्तौदेखि सरसफाई हुन सकेको छैन । बिरामी र बिरामीका आफन्तका थरिथरीका गुनासा छन् । संक्रमित बिरामीको उपचारमासमेत स्वास्थ्यकर्मीहरूले लापरबाही गर्ने गरेको गुनासो बिरामीका आफन्तको छ ।
अस्पतालमा उपचाररत संक्रमित उमेश यादवका आफन्तले यस्तै गुनासो गरेका छन् । बाहिरबाट किनेर ल्याएको ओषधिसमेत स्वास्थ्यकर्मीले बिरामीलाई नदिने गरेको आरोप उनले लगाए । 'अस्पतालले औषधि उपलब्ध गराउँदैन,' ती आफन्तले भने, 'बाहिरबाट किनेर दिँदा त्यो औषधि बिरामीसम्म पुग्दैन । पुनः त्यही औषधि किनेर ल्याउन भन्छन् ।'
अर्का संक्रमित उमा चौधरीका आफन्त विजय चौधरीको गुनासो पनि उस्तै छ । उनी भन्छन, 'कुनै दिन औषधि दिन्छन् । कुनै दिँदैनन्, बिहान ८ बजे दिनुपर्ने औषधि राति ११ बजे दिन्छन् । यस्तो अवस्थामा बिरामी कसरी ठीक हुन्छ ।'
५ वटा भेन्टिलेटर रहेको अस्पतालमा एउटा मात्रै सञ्चालनमा छ । ४ वटा बिग्रेका छन् । भेन्टिलेटर आभावमा गम्भीर संक्रमित बिरामीलाई धरान, विराटनगर र काठमाडौलगायतका ठाउँमा रेफर गर्ने गरिएको छ । भेन्टिलेटर बिग्रेको कुरा मेसु डा. प्रमोद यादव स्वीकार गर्छन् । 'हामी सँग ५ वटा भेन्टिलेटर रहेकोमा एउटा संचालनमा छ,' उनले भने, 'अर्को एउटा मर्मत गरिएको छ । तर राम्ररी चल्दैन । ३ वटा भेन्टीलेटर बिग्रेकै अवस्थामा छ ।'
उनले पूरानो भेन्टिलेटर भएको कारणले मर्मत गर्ने जनशक्ति आभावमा थन्किएको बताए । प्रदेश सरकारलाई थप भेन्टिलेटर उपलब्ध गराई दिन पटक-पटक ताकेता गर्दा पनि कुनै चासो नलिएपछि संघीय सरकारसँग १० वटा भेन्टिलेटर माग गरिएको आठ वटा पठाई दिने आश्वासन पाएको उनले जानकारी दिए । ६३ बेडको अस्पतालमा ४० वटा बेड सञ्चालनमा छन् । जसमा ३१ जना बिरामी उपचाररत छन् । उपचाररत बिरामी मध्ये १९ जना आइसीयूमा २ जना भेन्टीलेटरमा र अन्य आक्सिजन लगाएर उपचार गराई रहेका छन् ।
संक्रमितका आफन्तहरूले लगाएको ओषधि नै नदिने गरेको आरोप भने उनले ठाडै अस्वीकार गरे । 'दुई जना स्वीपरलाई २४औं घण्टा डियुटीमा खटाइएको, राउण्डमा चिकित्सक नै रहेका छन्, यसका साथै अस्पतालभित्र आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू खटाइएको छ । उनीहरूले समय समयमा औषधि दिइरहेको मैले स्वयंले बेला बेलामा अनुगमन गर्दै आएको छु,' उनले भने ।
बिरामीलाई भेटने बहानामा हुलका हुल कुरुवाहरू अनावश्यक रूपमा अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीहरूलाई अवरोध गर्दै आएको उनले आरोप लगाए । 'सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको छु, मेसु डा. यादवले भने, 'अब प्रहरी लगाएर अस्पतालभित्र हुने अनावश्यक भिडलाई नियन्त्रण गर्नेछु ।जहाँसम्म औषधिको कुरा हो, अस्पतालमा उपलब्ध औषधि दिईनै रहेका छौ । अस्पताल नभएका औषधि मात्रै बाहिरबाट किनेर ल्याउन भन्ने गरेका छौं । कुन औषधि दिने कुन नदिने त्यो कुरा स्वास्थ्यकर्मीलाई थाहा हुन्छ, अनावश्यक रूपमा भिडभाड गर्ने कुरुवाहरूले गलत कुरा गरेर अस्पताललाई बदनाम गर्न खोजे।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया