मधेश

धनुषामा अक्‍सिजन अभाव, महँगोमा बिक्री गर्दै व्‍यवसायी

सुभाष कर्ण |
बैशाख २४, २०७८ शुक्रबार १८:४२ बजे

फाइल तस्‍बिर

जनकपुरधाम : प्रदेश २ मा तीब्र गतिमा कोभिड-१९ संक्रमण बढेपछि अक्‍सिजन अभाव हुन थालेको छ । प्रत्येक स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण र अस्पतालहरूले स्टक गर्न थालेपछि आक्सिजन ग्यासको अभाव हुन थालेको हो । अक्‍सिजन अभाव हुन थालेपछि धनुषास्थित आक्सिजन ग्यास बिक्रेताहरूले अभाव देखाएर महँगोमा बिक्री गर्न थालेको उपभोक्‍ताले गुनासो गरेका छन् । व्‍यवसायीहरूले डेढ गुणा बढी मूल्‍य लिन थालेको उपभोक्ताको गुनासो छ । 

होम आइसोलेसनमा बसेका कोभिड बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आएका क्लोथ बैंकका संयोजक राजीव झाले अक्‍सिजन सिलिण्‍डर पहिलेभन्‍दा डेढ गुणा महँगोमा किन्‍नु परेको बताए । पहिले १० हजार धरौटीमा मिल्‍ने सानो सिलिण्डरको १५ हजार र १५ हजारमा पाइने सिलिण्डरको २५ हजार लिन थालेको उनको भनाइ छ । '२७५ रुपैयाँमा भर्दै आएको सानो सिलिण्डरको ५ रुपैयाँसम्म र ६ सय पर्ने ठूलोको साढे सात सय रुपैयाँसम्म लिइरहेको छ,  उनले भने, 'अक्सिजन ग्यास उत्पादन कम्पनीले डेढ गुणाभन्दा बढी रकम लिए पनि दिएका छैनन् ।'


त्यस्तै एम्बुलेन्स सेवा संचालन गर्दै आएका मिथिलाञ्चल विकास केन्द्रका संयोजक महाशंकर ठाकुरले पनि अक्सिजन ग्यास उत्पादनकर्ताहरूले डेढ गुनाभन्दा बढी मूल्‍यलिइरहेको गुनासो गरे । 'धनुषामा भाजुरत्नले प्रमुख ग्यास आपूर्तिकर्ता हुन,' उनले भने' हप्तामा मुश्किलले एक पटक दिने गर्छन् । त्‍यहाँ नपाएपछि निजी उत्पादन कम्पनी तथा सप्लायर्ससँग महँगो दरमा अक्सिजन लिइरहनु पर्ने बाध्यता छ ।'

धनुषामा भाजुरत्न इन्जिनीयरिङ्ग र ढल्केवर ग्यास उद्योगले ग्यास उत्पादन तथा न्यू मानिया ट्रेडिङ्गले अक्सिजन ग्यास सप्लायर्सको रूपमा काम गर्दै आएका छन् । ती मध्ये भाजुरत्नले अभाव रहेको भन्दै ग्यास नै उपलब्ध नगराएपछि ढल्केवर ग्यासले प्रा.लि. २७५ रुपैमाँ पर्ने अक्सिजनको ५ सय रुपैयाँ र न्यू मानिया ट्रेडिङ्गले साढे चारसय रुपैयाँसम्म लिइरहेका छन् । 

भाजुरत्न जनकपुरधाम शाखाका प्रमुख मनोज ठाकुरले आफूहरूसँग ग्यासको नभइ सिलिण्डरको आभाव रहेको बताए । उनले एक दिनको अन्तरालमा आपूर्ति गर्दै आएको दाबी गरे । सिलिण्डर आभावका कारण नयाँ ग्राहक बनाउन छोडेको उनको भनाइ छ । 

'कोभिड दोश्रो लहरफैलिन थालेपछि हाम्रो कम्पनीको एक हजारभन्दा बढी सिलिण्डर धरौटीमा लिई विभिन्न अस्पताल र स्थानीय तहहरूले राखेका छन् । तिनीहरू न त ग्यास भराउन आउँछन् न सिलिण्डर फिर्ता गर्छन् । त्यस कारणले नयाँ ग्राहक बनाउन छोडेका छौं । अहिले १३० वटा सिलिण्डरले काम गरिरहेका छौं, उनले भने ।  

धरौटीमा मनपरी रकम लिइरहेको जिज्ञासामा साहले धेरै ग्राहक सिलिण्डर नै राखेका कारण कोरोना पुष्टि भएका बिरामीलाई मात्रै २५ हजार धरौटी दिई सिलिण्डर र ८० प्रतिशत छुटमा प्रति सिलिण्डर ग्यास उपलब्ध गराइरहेको बताए । आइसोलेशन सेन्‍टर खोलेका स्थानीय तहहरूले ग्यासको माग गरेको भए पनि सिलिण्डर आभावले दिन नसकेको उनको भनाइ छ । 

यस्तै ढल्केवर ग्यास प्रा. लि. उद्योगका संचालक मुना सर्राफले ग्यास आपूर्तिमा महँगो शूल्‍क नलिएको बताउँछन् । कोभिडको बेला हामी सेवा दिइरहनु नै ठूलो कुरा भएको उनले बताए ।  '२७५ पर्ने ग्यासको ५ रुपैयाँ पहिला लिइरहेका थियौ,' उनले भने, 'अहिले आएर झन एक सय रुपैयाँ कम गरेर मात्र ४ सय रुपैया लिइरहेका छौं । अहिले डिजेल र लेबर कस्टको कारणले गर्दा ग्यास उत्पादनमा हामीलाई लागत नै बढी हुने भएको कारणले भाजुरत्न भन्दा अलि महँगो हुन गएको हो ।'

ढुवानी र उत्पादन खर्च मिलाएर बढी लागत भए पनि सेवाको भावनाले काम गरिरहेको उनले दाबी गरे । 'जहाँ सिलिण्डरको धरौटीको कुरा हो, एक वर्ष अगाडिसम्म हामीले ७०/७५ डलरमा ल्याउँथ्‍यौ', उनले भने 'अहिले ९५ डलर त्यसमा ढुवानी खर्चसमेत लगाएर प्रति सिलिण्डर खर्च नै २२ देखि २४ हजारसम्म पर्ने भएको हुनाले महँगो हुन गएको हो ।'

यता प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले अक्सिजन आभावको गुनासो आएको भए पनि कालोबजारीको गुनासो नआएको बताए ।  अक्सिजनमा कालोबजारी हुन नदिन कडा निगरानी गरेको उनले बताए ।  तीन वटै उत्पादक कम्पनी र सप्लायर्समा अनुगमन तीब्र पार्ने उनको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x