मधेश

उपमहानगरपालिकाबाटै तिरहुतिया गाछीको अस्तित्व संकटमा

सुभाष कर्ण |
मंसिर ३, २०७७ बुधबार ६:५३ बजे

जनकपुरधाम : कुनै समयमा तिरहुत राज्यको सेनाको विश्रामस्थलको रुपमा रहेको जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीको अस्तित्व संकटमा परेको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित उक्त ऐतिहासिक तिरहुतिया गाछीमा उमहानगरपालिकाबाटै फोहर फाल्ने डम्पिङ साइटको रुपमा प्रयोग गर्न थालेपछि अस्तित्व संकटमा पर्न गएको हो ।

राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय र महेन्द्रनारायण स्मृति प्रतिष्ठानको बीचमा रहेको उक्त तिरहुतिया गाछीमा उपमहानगरपालिकाले नगरभरिको फोहर फालेपछि दुर्गन्धले महामारी फैल्ने समस्यासमेत बढेको छ । करीब २५ विघाभन्दा बढी क्षेत्रफल भएको सो तिरहुतिया गाछी अतिक्रमण हुँदै अहिले पौने चार विघामा सीमित भएको छ । गुठी अधिनस्थ उक्त जग्गामा हालको राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय, जिल्ला तथा पुनरावेदन अदालत, कृषि बजार, एकीकृत शहरी डिभिजन कार्यालय लगायतका सरकारी कार्यालय खडा छन् ।


बाँकी रहेका जग्गामा अहिले उपमहानगरपालिकाले डम्पिङ साइटको रुपमा प्रयोग गर्न थालेपछि त्यो पनि अतिक्रमणको चपेटामा पर्न गएका कारण स्थानीयले विरोध जनाउन थालेका छन् । वर्षौदेखि अतिक्रमणमा परेका र संरक्षणको अभावमा जीर्ण बनेको तिरहुतिया गाछीको अस्तित्व बचाउन सामाजसेवी अमरचन्द्र अनिलको नेतृत्वको विगतमा निकै प्रयास भएपनि उपहानगरपालिका नै अस्तित्व मेटाउन लागिपरेको छ । कुनै समयमा रुखैरुखको बगैंचाको रुपमा परिचित सो तिरहुतिया गाछीमा हाल रुख भेट्नै गाह्रो भएको छ । २०४६ सालसम्म रूख देखिन्थे तर बिस्तारै कटान बढेर ०७२ सालसम्म आउँदा नौवटा रूख थिए । तर, अहिले आएर ती रूख पनि काटिएका छन् ।

संरक्षणको प्रयास
ईकागजसँग कुरा गर्दै सामाजसेवी अमरचन्द्र अनिलले भने ‘तिरहुतिया गाछीको अस्तित्व बचाउन उद्यानको रुपमा परिणत गर्न गत ६ वर्षदेखि आफू सक्रिय भएर लागेको थिएँ, काम पनि गरें । सुरुमा निजी लगानी र चन्दा संकलनबाट विभिन्न सेड निर्माण र केही रुखहरुमा चबूतारा निर्माण गरायौं ।’त्यसपछि सर्वदलीय बैठकबाट उद्यान संरक्षण समिति गठन गरी जिल्ला वन कार्यालयबाट २ लाख र उपमहानगरबाट डेढ लाख रुपैयाँ उद्यान संरक्षण समितिलाई उपलब्ध गराइएको थियो ।

‘सानो रकमबाट हामीले संरक्षणको काम सुरु गरेका थियौं,' समितिका संयोजक अनिलले भने, ‘दिसापिसाबले अति नै फोहोर भएको उद्यानलाई दिन-रात लगाएर सफा गर्‍यौ, विभिन्न व्यक्तिको सहयोगमा माटो हाल्ने कामका साथै विभिन्न प्रजाति रुख र फलफूलको एक हजारभन्दा बढी बिरुवा पनि रोपियो ।’

२०७३ मा पनि वन कार्यालयले उद्यान संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो । जसबाट उद्यानभित्र मर्निङ वाक गर्न, चौतारा निर्माण, सर्वसाधारणलाई बस्न पार्कको रुपमा परियोजना अघि बढाइएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक रमेश सिंहको पहलमा उद्यान सौन्दर्यीकरणका लागि २ करोड रकम समेत डिभिजन कार्यालय मार्फत विनियोजन गरिएको थियो । तर, ती काम उपमहानगरपालिका, विभिन्न दलका व्यक्ति र व्यापारीहरुबाट अवरोध हुन थालेपछि सो कार्य रोकियो । संरक्षण स्वरुप २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो । तर, २०७३ पछि उपमहानगरपालिकाद्वारा प्रवेशद्वार खुला गरिएपछि सर्वसाधारणको दिसापिसाब गर्ने, फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बन्न गएको हो ।

तिरहुतिया गाछीको ऐतिहासिकता
बाइसे चौबिसे राज्यकालमा तिरहुत सेनाको विश्रामस्थलको रुपमा रहेको तिरहुतिया गाछी रामायणकालीन रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासका अनुसार त्रेतायुगमा भगवान श्रीराम जानकीको विवाहको बेला राजा जनकको बगैंचाको रुपमा रहेको सो तिरहुतिया गाछीमा अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई त्यहाँ राखिएको थियो ।

मिथिलाका राजा जनक (शिरध्वज) को दरबारसमेत सो बगैंचाको रुपमा रहेको सो गाछीमै लाग्ने गथ्र्यो । नगरवासीको दुःखपीडा सुन्न राजा जनकको त्यहाँ दरबार लगाइथ्यो । कलान्तरमा दुई दशकअघिसम्म विवाह पञ्चमी र मध्यमा परिक्रमामा लाग्ने मेलामा आएका श्रद्धालुहरुको बास स्थान र त्यसमा रामलीला लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो । देश विदेशबाट आउने पयर्टकहरु विभिन्न प्रजातिका रुखैररुख भएका सो तिरहुतिया गाछीको रमणीय दृश्य हेर्न पुग्थे नै । वर्षौसम्म सो गाछीमा गोरु बजार समेत लाग्ने गरेको थियो ।

२००७ सालता नजिकै जिल्ला प्रहरी कार्यालय भएको कारण सुरक्षाको दृष्टिकोणले विशिष्ट व्यक्तिहरुको सभा सम्मेलनमा विभिन्न राजनीतिक कार्यक्रम आयोजना हुँदै आएको थियो ।

उपमहानगरपालिका बेवास्ता गर्दै
तिरहुतिया गाछीको ऐतिहासिकता बचाउन नगरको स्वच्छताका लागि अर्थ (पृथ्वी) क्लीन एण्ड ग्रीन फाउण्डेशनद्वारा फोहर व्यवस्थापनका लागि प्रयास हुँदा पनि उपमहानगरपालिका नगर प्रमुखबाट बेवास्ता गरिदै आएको छ ।

फाउण्डेशनका दिपु ठाकुरले भने, ‘फोहर व्यवस्थापन र त्यसबाट आर्गेनिक मल्ल उत्पादन गर्न उपमहानगरपालिका नगरप्रमुख लालकिशोर साह कहाँ गत एक वर्षदेखि धाएका छौं, तर उहाँले बेवास्ता गर्दै आउनुभएको छ ।’

‘डम्पिङ साईटका लागि फोहर व्यवस्थापन गर्ने उद्देश्यले नगर बाहिर विसविट्टी जाने बाटोमा २ बिघा जग्गा लिजमा समेत लिएका छौं,’ उनले भने, ‘त्यसमा फाल्न भन्दै आएका छौं तर नगरप्रमुख साहले त्यसलाई बेवास्ता गर्दै तिरहुतिया गाछीमा फोहर फाल्दै आएकोले दुःख लागेको छ ।’

नगरप्रमुख साहसँग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनेन् । उपनगरप्रमुख रीता मिश्रले अनभिज्ञता प्रकट गर्दै भनिन्, ‘तिरहुतिया गाछीमा फोहर फालिरहेको बारे मलाई केही थाहा छैन ।’ त्यस्तै निमित प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले भने, ‘बृहत् सरसफाइका संयोजक नगरप्रमुख आफै हुनु हुन्छ फोहर कहाँ फालिरहेको, कसको ऐतिहासिकता मेटियो वा बाचियोबारे उहाँसँग नै सोध्नुस् ।’

यता वडाध्यक्ष सुदर्शन सिंहले लिखित तथा मौखिक रुपमा तिरहुतिया गाछीमा फोहर नफाल्न पटक-पटक भन्दै आए पनि आफ्नो कुरालाई नगरप्रमुख साहले बेवास्ता गर्दै आएको दुखेसो पोखे । तिरहुतिया गाछीको अस्तित्व मेटिन लागेपछि दुख सबै क्षेत्रका व्यक्तिलाई छन तर गम्भीर रुपमा कोही पनि लाग्न चाहिरहेका छैनन ।    
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x