मधेश

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक मन्त्रालय तानिए

सुभाष कर्ण |
चैत ९, २०७९ बिहीबार २१:३६ बजे

जनकपुरधाम- ल्याब रिपोर्टमा गल्ती गरेको र डियूटीमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद यादवलाई जिम्मेवारीबाट हटाइएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा निर्देशक यादवलाई कारबाही स्वरूप बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरी मन्त्रालयमा तानेको हाे ।


विभिन्न संचार माध्यमहरूले अस्पतालको ल्याबले गलत रिपोर्ट दिएको समाचार सार्वजनिक गरेपछि मुख्यमन्त्री यादवले अस्पतालको निरीक्षण गर्दा निर्देशक यादव डियूटीमा नभेटिएपछि उनलाई पदमुक्त गरी मन्त्रालय तानिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिएका छन् ।

मुख्यमन्त्री यादवले निरीक्षण पश्चात तत्काल निर्देशक डा. यादवलगायत ल्याबको गलत रिपोर्ट दिनेहरूमाथि कारबाही गर्न सामाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन दिएका थिए । गलत रिपोर्ट दिनेहरूमाथि अनुसन्धान भइरहेको र कारबाही गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निर्देशक यादव पटक-पटक विवादित बन्दै आएका हुन् । यसअघि स्वास्थ्य आपूर्ति केन्द्रमा प्रमुख पदमा रहेका बेला कोरोना कालमा औषधि तथा स्वास्थ्य सामग्री खरिदमा अनियमितता र सरुवा भइसकेपछि केन्द्रमा बलजफ्ती एक वर्षभन्दा बढी समय बसेको आरोप समेत लाग्दै आएको छ । कानुनविपरीत केन्द्रको प्रमुखमा बसेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले उनलाई प्रतिष्ठानको विधानमै नरहेको निर्देशक पद थपेर पदस्थापन गरिएको थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको एक वर्षयता प्रादेशिक अस्पतालको उपचार सेवा अस्तव्यस्त बनेको छ । प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी तथा कर्मचारीबीच छैन । सेवा भद्रगोल भएपछि प्रादेशिक अस्पतालमा भएको उपकरण थन्क्याएर रेफर सेन्टरमा परिणत हुन गएको आरोप समेत लाग्दै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x