छठमा घाट सजाउने कार्य सुरु
जनकपुरधाम : तराई मधेशमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । विधिवत रुपमा कात्तिक शुक्ल चतुर्थी बुधवारदेखि विधिवत रुपमा सुरु हुने छठ पर्वका लागि ऐतिहासिक नगर जनकपुरधाममा पोखरी, नदी, तलाउ र सरोवरलगायतका जलाशयहरु सरसफाई गरी सजाउने कार्य सुरु भएको छ ।
विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका विभिन्न पोखरी तथा सरोवरलाई प्रत्येक वर्ष झै यस वर्ष पनि दुलही झैँ सिंगारिदै छ । जनकपुरधामका गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडालगायतको छाउनी बनाउने तथा त्यसमा झिलिमिली बती लगाउने कार्य तीव्र रुपमा सुरु भएको छ ।
गंगा सागर छठ पूजा समितिले गंगा सागरको डिलमा छठका लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने गरी तयारी भइरहेको जनाएको छ ।
छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन र, भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाहरूले यो पर्व मनाउँछन । छठ पर्व गर्दा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । बुधवारदेखि विधिवत रुपमा शुरु हुने छठपर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सुर्यलाई अर्घदान गरी सम्पन्न हुनेछ ।
चारदिनसम्म मनाइने छठको पहिलो दिन बुधबार कात्तिक शुक्ल चतुर्थीका दिन नुहाई धुवाई अरबाअरबाईन गरिने छ । यसदिन व्रतालुहरुले नुहाईधुआई चोखो भई अरबा चामलको भात मात्र खाने गर्छन । छठ पर्वका लागि बनाउने प्रसाद भुसुवा (चामल पिठोको सक्कर मिश्रित लड्डू) को लागि पिठो ढेकी जाँतामा पिस्ने गर्छन ।
दोश्रो दिन पंचमी बिहीवारका दिन खरना मनाइने छ । खरनामा व्रतालु महिला दिनभरि निराहार उपवास बसी राति कुलदेवता र पुर्वजसहितलाई खिर, मूला, केरा, दुध र विभिन्न फलफूलका परिकारले नौवेद्य (प्रसाद) चढाउने गर्छन ।
त्यसपछि छठ पर्वको मुख्य षष्ठी दिन व्रतालु निराहार उपवास बसी पोखरीको डिलमा ठकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउंदो सुर्यलाई अर्घदान दिइनेछ भने अन्तिम सप्तमीका दिन सोही प्रसाद अदाउंदो सुर्यलाई अर्घदान गरी सम्पन्न गरिनेछ ।
यता छठको प्रमुख प्रसादको रुपमा रहेको केरा कारोबारसमेत बढेको छ । फलफूल व्यवसायी संघ, जनकपुरले छठ पर्वलाई मात्रै लक्षित गरी भारतका विभिन्न स्थानबाट ४० ट्रकभन्दा केरा, १० ट्रक स्याउ, तीन-तीन ट्रक अनार र सुन्तला ल्याइएको जनाएको छ ।
सुरक्षा व्यवस्था कडा
छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्थालाई कडा पारेको छ । विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वका समयमा अप्रिय घटना भएकाले त्यस्ता घटना दोहोरिन नदिन आफूहरू सतर्क बनेको धनुषाका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बताए ।
‘छठ पर्वका अवसरमा रातिको सयममा घाटमै बस्ने परम्परा छ,’ उनले भने, ‘यस्तोमा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुने भएकाले सुरक्षा सर्तकता बढाएका छौँ ।' जनकपुर क्षेत्रसहित ग्रामीण भेगमा समेत प्रहरी सुरक्षा चेकजाँच तथा गस्ती बढाएको जानकारी दिँदै डिएसपी मिश्रले भने‘सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र प्रहरीसँग समेत सहकार्य गरी सीमावर्ती क्षेत्रमा बढी निगरानी बढाइने छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया