मधेश

राष्ट्रिय जनगणना २०७८

मधेशको साक्षरता दर सबैभन्दा कम

खेर गयो सरकारको 'बेटी पढाउ बेटी बचाउ' अभियानमा अर्बौं लगानी

सुभाष कर्ण |
चैत १२, २०७९ आइतवार २१:१९ बजे

जनकपुरधाम- राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा प्रदेशहरू मध्ये मधेश प्रदेशको साक्षरता दर सबैभन्दा कम देखिएको छ ।

२०७८ को जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता करिब १५ प्रतिशतले उक्लिए पनि सातै प्रदेश मध्ये सबैभन्दा कम रहेको छ । मधेशका ८ जिल्लाका साक्षरता दर ४८.५४ प्रतिशतबाट फड्को मार्दै ६३.५ प्रतिशत पुगेपछि सबैभन्दा कम नै रहन गयो । जब कि सबैभन्दा बढी बागमती प्रदेशको ८२.१ प्रतिशत साक्षरता दर रहेको छ । 


नेपालभरिमै सबैभन्दा कम साक्षरता भएका मधेश प्रदेशकै चार वटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा रहेका छन् । जनगणनाको तथ्यांक अनुसार रौतहटको ५७.७५, महोत्तरी ५९.७७, सर्लाही ६०.३१ र बाराको ६४.५४ प्रतिशत रहेको छ । धनुषा, सिरहा, सप्तरी र पर्सा साक्षरता दर यी जिल्ला बाहेक केही बढी छन् ।

प्रदेशको साक्षरता दर कम देखिनु प्रदेश सरकार र स्थानीय तह प्रमुख जिम्मेवार रहेको टिप्पणी हुन थालेको छ । सरकारले टुक्रे विकासे योजना, मन्दिर, मस्जिद र तलाउ पोखरी सौन्दर्यकरणमा कूल बजेटकाे आधाभन्दा बढी बजेट खर्चेका छन् । शिक्षातर्फको लगानी मुश्किलले ५ प्रतिशत पनि छैन ।

साक्षरता दर बढाउन कुनै किसिमको प्रौढ वा बाल शिक्षासहितका विद्यालय भर्ना कार्यक्रम संचालन गत ५ वर्षको अवधिमा गर्न सकेन । बजेट खर्चे पनि कमीसन आउने खाले विद्यालयको भवन निर्माण र बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत स्कुल पुगेका छात्राहरूको साइकल वितरणसहितका योजनामा गरेको नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामतले बताए ।

तथ्यांक अनुसार छोरीलाई शिक्षित बनाउन प्रदेश सरकारले अभियान ल्याएपछि ५ वर्ष माथिका २३ लाख बढी जनसंख्यामा ६ लाखभन्दा बढी महिला लेख्न र पढ्न नसक्ने खालका निरक्षर छन् । ५ वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये १९ लाख १० हजार ७५६ पढ्न साक्षर छन् भने ३ लाख ३ हजार ६४ निरक्षर छन् । महिलातर्फ ५ वर्षमाथिका २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन् भने करिब २५ प्रतिशतको हाराहारीमा ६ लाख १५ हजार ४६४ जना निरक्षर रहेको तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारले 'बेटी पढाउ बेटी बचाउ' अभियानमा गत ४ वर्षको अवधिमा खर्चेको अर्बौं रुपैयाँ निरर्थक साबित भएको छ । शिक्षाविद्हरूका अनुसार ती रकमलाई सरकारले विद्यालय पहुँच बाहिर रहेका बालबालिकादेखि प्रौढसम्म साक्षर बनाउनमा खर्चिएर सदुपयोग हुन सक्थ्यो । 

नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवले पछिल्लो पटक सार्वजनिक गरिएकाे जनसंख्यामा समावेश गरिएको तथ्यांकहरू विश्वनीय नभएकाे बताएका छन् । उनले यो तथ्यांक संकलन नै एनजीओ/आईएनजीओका माध्यमले घर र अफिसमा बसेर गरिएको आराेप लगाए । यस्तै यसको विश्वसनीयतामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको पनि उनले बताए ।

तथापि  सो तथ्यांकलाई आधार मान्ने हो भने प्रदेशको साक्षरता कम हुनुमा शैक्षिक वातावरणको अभाव, प्रदेश र स्थानीय तहद्वारा शैक्षिक क्षेत्रमा उचित लगानी नहुनु, तहगत प्रधानाध्यापक र शिक्षकको अभाव, विद्यालय पहुँचमा कुनै योजना अघि नबढाउनु प्रमुख कारणहरू रहेको उनको भनाइ छ । अध्यक्ष यादवले भने, 'कहीं विद्यालय छ भने त्यहाँ तहगत प्रधानाध्यापक र शिक्षक अभावले पढाइमा कमी कमजोरी हुनु, कहीं शिक्षक छन् भने विद्यार्थी नै छैनन्, विद्यार्थी छन् भने शिक्षक नै नरहेको अवस्था छ ।' 

यस्तै प्रदेश सभा सदस्य शेषनारायण यादवले प्रदेश सरकारले विद्यालय बाहिर रहेका व्यक्तिलाई विद्यालय पुर्‍याउनुभन्दा विद्यार्थी टिकाउन साइकल, ब्यागमा अर्बौं रकम खर्चियाे जसको साक्षरता बढाउनेसँग कुनै सरोकारै नभएकाे उल्लेख गरे । उनले भने, 'ती खर्च निरर्थक हुन् । यता स्थानीय तहले पनि शिक्षामा बजेट खर्च गर्नु र शैक्षिक वातावरण बनाउनुको सट्टा टुक्रे योजना र शैक्षिक राजनीतिमा लागेका छन् । यी विकृतिहरूले गर्दा साक्षरता कम हुन गएको हो ।'

'साक्षरता दर बढाउन प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ सँगसँगै विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालयमा पहुँच बढाउन र प्रौढ शिक्षासहित योजना अघि बढाउन आवश्यक छ,' उनले भने ।

प्रदेश सरकार अन्तर्गतको शिक्षा मन्त्रालय, मातहतका निर्देशनालय तथा जिल्ला स्तरीय शिक्षा समन्वय इकाइ सबैले सामुदायिक शिक्षालाई राम्रो तथा भरपर्दाे बनाउन र कार्यान्वयन गर्न/गराउन निजी विद्यालयको नयाँ दर्ता समेत बन्द गराउन पछि हटेनन् । तर, जतिसुकै प्रयास गरिए पनि शिक्षाको स्तर तथा गुणस्तरमा कुनै पनि परिवर्तन देखिएको छैन । मधेश प्रदेशकाे साक्षरता दरमा पिछडिएका जिल्लाहरूमा विद्यालय तथा उच्च शिक्षालयहरूको कमीका कारण पनि साक्षरता दरमा सुधार हुन नसकेको शिक्षाविदहरू बताउँछन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x