मधेश

मध्यरातमा मुख्यमन्त्री छड्के गर्दै अस्पताल पुगेपछि...

सुभाष कर्ण |
चैत १५, २०७९ बुधबार १९:४२ बजे

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा लापरवाही भइरहेको र चिकित्सकहरु डियूटीमा नबस्ने गरेको गुनासो आउन थालेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आम नागरिकको रुपमा आकस्मिक छड्के गरेका छन् । मंगलबार राति ११ बजेतिर मुख्यमन्त्री यादव बिना कुनै तामझम र बिना सुरक्षाको सर्वसाधारण नागरिकको रुपमा सामान्य अवस्थामा पुगेका हुन् ।  

उनी सेतो रंगको भेष्ट र पाइजामा लगाएर काँधमा गमछा राखेर प्रादेशिक अस्पतालमा निरीक्षण गर्न पुगेका थिए ।


आफूसँगै गएका सुरक्षाकर्मीसहित दुई÷तीन जना सहयोगी लिएर पुगेका मुख्यमन्त्री यादवले आकस्मिक सेवासहित प्रत्येक वार्डमा गई बिरामीसँग के कस्तो सुविधा पाइरहेको, स्वास्थ्यकर्मीले कस्तो व्यवहार गरिरहेकोबारे सोधपुछ गरेका थिए । छड्के पश्चात प्रत्येक वार्डमा मुख्यमन्त्री यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बिरामीको सेवा सुविधामा कुनै किसिमको कमी वा लापरवाही नगर्न निर्देशन दिंदै कुनै समस्या भए सिधै गुनासो गर्न बिरामीहरुलाई आग्रह गरेका थिए ।

छड्केमा देखिएको अवस्थाबारे इकागजसँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने ‘अस्पतालमा लापरवाही र कमी कमजोरी देखिएको छ । डियूटीमा केही चिकित्सक र स्वास्थ्यकर्मी देखिएन। सुरक्षा व्यवस्थामा समेत कमी कमजोरी देखियो ।’ लापरवाही गर्नेहरुको अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
उनले गरेको छड्केबारे मधेश विज्ञान प्रतिष्ठान र अस्पतालका कर्मचारीहरु अनभिज्ञ छन् । प्रतिष्ठानका अध्यक्ष डा. रामकेवल साहले भने मुख्यमन्त्रीज्यूले औपचारिक रुपमा छड्के गरेकोबारे आफूलाई थाहा नभएको बताए । ‘अस्पतालको सेवाबारे निरीक्षण गर्ने मुख्यमन्त्री मात्रै होइन जो कोहीलाई पनि अधिकार छ । उहाँले सर्वसाधारण नागरिकको रुपमा छड्के गर्नु भएको छ त्यो राम्रो कुरा हो ।’ उनले भने ।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोद कुमार यादवलाई कारबाही गरिसकेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्फ पहल गरेका छन् ।

केही दिनअघि प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य चेकजाँचको ल्याब रिपोर्ट गलत दिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री यादवले चासो देखाएका छन् । गत साता छड्के गर्दा अस्पतालका निर्देशक डा. प्रमोद यादव सहितका केही कर्मचारी डियूटीमा नपाइएपछि उनलाई कारवाही स्वरुप मन्त्रालयमा तानिएको छ ।

गलत ल्याब रिपोर्ट दिने घटनामा संलग्नहरुलाई काजबाट हटाइएको छ । त्यसयता मुख्यमन्त्री यादव मंगलवार राति दोश्रो पटक सामान्य नागरिकको भेषमा छड्के गरेका छन् ।

छड्केबारे मुख्यमन्त्री यादवले अस्पतालमा लापरवाही भइरहेको र गुणस्तरीय सेवा नदिइरहेको गुनासो आउन थालेपछि निगरानी थालिएको बताए । सामान्य भेषभूषामा आमनागरिकको रुपमा छड्के गर्नुको के अर्थ भन्ने जिज्ञासामा उनले भने ‘मुख्यमन्त्रीको हैसियतमा निरीक्षण गर्दा सबै कुरा चिटिक्क पारिन्थ्यो । त्यसमा लापरवाही वा कस्तो दिई रहेको बारे थाहा हुदैन थियो । तर आम नागरिकको रुपमा गएपछि धेरै कुरा बुझ्न पाएको छु ।’

उनले भने, ‘प्रादेशिक अस्पताल जनकपुरधामको सेवाप्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुनेछ ।’ उनले रेफर अस्पतालको रुपमा ट्याग लागेका यी प्रादेशिक अस्पताललाई गुणस्तरीय तथा प्रभावकारी सेवा सुलभ बनाउन प्रदेश सरकार हरसम्भव प्रयास गर्ने बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x