मधेश

जसपा अध्यक्ष यादवले प्रहरीबाट किन कुटाई खाए ?

सुभाष कर्ण |
चैत २२, २०७९ बुधबार १९:४० बजे

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार यादव कुटिएको घटनाले मंगलबार दिनभरि सदरमुकाम राजविराजको अवस्था तनावग्रस्त रह्यो । 

एक घटना सम्बन्धमा बुझ्न जाँदा नशामा रहेका प्रहरी निरीक्षक नवीन थापाले फाइट र लट्ठीले कुटेर घाइते बनाएको भनी जसपाका नेता कार्यकर्ताहरुले प्रहरी विरुद्ध दिनभरि जिप्रका कार्यालय र विभिन्न चाेकहरुमा टायर बालेर विरोध प्रदर्शन गरे । तिनीहरुको सो प्रदर्शनले राजविराजको अवस्था दिनभरि नै तनावग्रस्त रहेकाे थियाे । 


प्रहरीको कुटाईले अध्यक्ष यादवको टाउको मुनी आँखा छेउमा चोट लागेको थियो । घटनापश्चात तत्कालै उनलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुर्या‍इयो । यो घटनाले दिनभरि चर्चाको विषय बनिरह्यो । 

घटनाबारे प्रहरीले मुख नखोल्दासम्म थरीथरीका कुरा बाहिरियो । तर प्रहरीले मुख खोलेपछि घटनाको यथार्थ खुल्याे । उनी  पक्राउ परेका आफ्ना पार्टीका एक नेताको छोरालाई थुनामुक्त गराउन दबाव दिएपछि उनी कुटिन पुगेका हुन्।

घटनाबारे जिप्रका सप्तरीका प्रहरी प्रवक्ता नरेश सिंहले भने- 'सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ वडाध्यक्षका मनोज यादवका छोरा मन्जीत यादवले छिमेकी एक १६ वर्षीया किशोरी आफ्नै घरको कल (ट्युबेल) मा नुहाईरहेको लुकिछिपी अश्लील भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा हालेको थिए ।  किशोरी नुहाइरहेको अर्धनग्न भिडियो बनाएर टिकटकमा हालेका कारण मन्जीतविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । घटनाबारे अनुसन्धान भइरहेकै क्रममा जसपा जिल्ला अध्यक्ष केदार यादवले आरोपित युवकलाई छुटाउन पहिला फोनमार्फत दबाव दिए ।' प्रहरीले नमानेपछि उनी जिल्ला प्रहरी कार्यालयमा आएर गैर–कानुनी रुपले प्रहरी उपर दबाब दिदैँ प्रहरीलाई धाकधम्की देखाउन थालेपछि प्रहरीले बाध्य भई कुटपिटमा उत्रेका प्रवक्ता सिंहले भने । 

उनले थप्दै भने-'मुद्दाका प्रहरी निरीक्षक नवLन थापालाई अध्यक्ष यादवले पदको दम्भ देखाउFदै मन्जीतलाई छोड्न दबाव दिइरहेका थिए । तर प्रहरी निरीक्षक थापाले यस्तो संवेदनशील मुद्दामा संवेदनशील हुन पटक पटक आग्रह गरेपनि अध्यक्ष यादवले पटक पटक पदीय दम्भ देखाउँदै हो हल्ला गर्दै गालीगलाैजमा उत्रेपछि प्रहरीसँग हाताहालको अवस्था उत्पन्न भयो र सो क्रममा उनको टाउकोमा चोट लाग्न गएको हो ।'

अध्यक्ष कुटिएको घटनाले जसपाका नेताहरु आक्रोशमा जिप्रका अगाडि टायर बालेर नारावाजीसहितका प्रदर्शन गरे । पछि घटनाको वास्तविक थाहा पाएपछि ती नेता कार्यकर्ताहरु त्यहाँबाट आफै फर्केर गएका थिए । मन्जीत अहिलेसम्म प्रहरी थुनामै रहेका छन् । प्रवक्ता सिंहले भने घटनाको अनुसन्धान नभएसम्म उनी थुनामै रहनेछ । अनुसन्धानपछि थप कारवाही प्रक्रिया अघि बढाइनेछ ।

पक्राउ परेका मन्जीतकै कारण घटना हुन गएको स्वीकार गर्दै प्रदेशका पूर्व मन्त्री एवं जसपाका केन्द्रिय सदस्य शैलेन्द्र साहले भने हाम्रा वडाका प्रत्याशी मनोजकै छोरालाई के कति कारणले पक्राउ गरेको बुझ्न गएका थिए । उनले थप्दै भने, 'कुनै व्यक्ति वा नेता अपराधी नै छ भने एउटा राजनीतिकर्मीको काम नै हो घटना बुझ्ने । घटना बुझ्नैमा हातपात गर्नु भनेको जघन्य अपराध हो ।' 

'त्यस्ता अपराधिक प्रवृतिका प्रहरीलाई कारवाही हुनैपर्छ ।' साहले भने, 'घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कहाँ एक सर्वदलीय टोली पनि गएको छ । अब हेरौं के निष्कर्ष निस्किन्छ ।'

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x