मधेश

वीरगन्ज महानगरमा अक्सिजनसहितको आइसोलेसन सेन्‍टर, खानादेखि उपचारसम्म नि:शुल्क

सुभाष कर्ण |
बैशाख २८, २०७८ मंगलबार १२:३४ बजे

जनकपुरधाम : वीरगंज महानगरपालिकाले आफ्नै खर्चमा सय बेड अक्सिनसहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । वडा नम्बर ९ स्थित गोपाल मण्डली धर्मशालामा सय बेड आक्सिजनसहितको २३० बेडको आइसोलेसन कक्ष संचालनमा रहेको महानगरपालिकाका मेयर विजय सरावगीले बताए । अक्सिजनसहितको आइसोलेसनमा खानादेखि उपचारसम्म नि:शुल्क व्यवस्था गरिएको उनले बताए । साथै घरमै रहेका संक्रमितलाई समेत अक्सिजनको व्यवस्था गरिएको उनको भनाइ छ । 


‘महामारीमासँग लड्न अस्थायी कोभिड विशेष अस्पताल संचालनमा ल्याएका छौं,’ उनले भने, ‘जसमा अहिले एक सय अक्सिजनसहितको २३० बेडको आइसोलेसन कक्ष निर्माण गरेका छौं, जसमा २ एमडीसहित १० जना चिकित्सक, २१ स्वास्थ्यकर्मी र सफाईकर्मीसहित ४० जना कर्मचारी तथा संक्रमितहरूको सेवाको लागि एम्बुलेन्स २४सै घण्टा खटाएका छौं ।’ 

गम्भीर अवस्था भएका बिरामीलाई नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा आफ्नै खर्चमा थप उपचार गराउने व्यवस्था गरेको उनले जानकारी दिए । यसका साथै घर–घरमा गई पीसीआर चेकजाँचका लागि स्वाब संकलन, एक सयभन्दा बढी होम आइसोलेशनमा बसेकाहरूलाई औषधि उपचारदेखि आक्सिजन दिदैं आएको उनले बताए । उनले सशस्त्र प्रहरीको आइसोलेसन कक्षमा २१ वटा आक्सिजन र नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर दिन लागेको बताए । 

उनले संघ र प्रदेश सरकारले भने सहयोग नगरेको गुनासो गरे । कोभिड महामारीसँग् जुध्न ४ करोड बजेट छुट्याइएको उनले बताए । यतिले पनि नपुगे थप रकमको व्यवस्था गर्ने उनले बताए । ‘पहिलो चरणको महामारीका बेला महानगरपालिकाले ७ करोड रुपैया खर्च गरेको थियो,’ उनले भने, ‘हालसम्म प्रदेश वा संघ सरकारले उपलब्ध गराएको छैन । प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि भुक्तानीसम्म गर्न सकेको छैन । संघ र प्रदेश सरकार सहयोग नगरे पनि भ्याएसम्म विकासको काम पनि नरोकिनेगरी महानगरपालिकाकै बजेटबाट व्यवस्थापन गर्ने प्रयास गर्नेछौं, त्यसले अपुग भएमा आफ्नो निजी खर्च अन्य सहयोगीहरूको मद्दतले व्यवस्थापन गर्नेछौं ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x