मधेश

होम आइसोलेसनमा बसेका संक्रमितलाई नि:शुल्क अक्सिजन र चिकित्सकीय सेवा

सुभाष कर्ण |
बैशाख २८, २०७८ मगलवार १३:४९ बजे

जनकपुरधाम : क्लोथ बैंक नेपालले धनुषा जिल्लाभरि होम आइसोलेसनमा रहेका संक्रमितकलाई घरमै पुगी अक्‍सिजन सिलिण्‍डर र चिकित्‍सकीय सेवा दिइरहेको छ । गरीब असहायलाई नि:शुल्क लुगा कपडा सहयोग गर्ने उद्देश्यले खोलिएको क्लोथ बैंकले होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई अक्सिजन ग्यासका साथै नि:शुल्क चिकित्सकीय परामर्श दिइरहेको बैंकका संयोजक राजीव झाले बताए । होम आइसोलेशनमा बसेका ७७ जना संक्रमित क्लोथ बैंकको निगरानीमा रहेको उनले बताए । 


'अस्पतालमा संक्रमित धेरथोर सेवा पाई नै रहेका छन,' उनले भने, 'तर होम आइसोलेसनमा बसेकाहरूलाई तीन वटै सरकारमध्ये कसैले सहयोग नगरेपछि हामीले सहयोग गरिरहेका छौँ ।' उनले ८० जना चिकित्सकको व्यवस्थापन गरिरहेको र त्‍यसमध्‍ये २१ जना चिकित्सक अहिले २४सै घण्‍टा परामर्शका लागि खटेको बताए । जुनसुकै बेला पनि जिल्लाभरीका संक्रमितले फोन गरेमा अक्सिजन बोकेर घरसम्म पुगेर सेवा दिँदै आएको उनले जानकारी दिए ।


'सुरुमै हाम्रो चिकित्सकीय टोलीले संक्रमितको घरमा पुगी आवश्यकताअनुसार अक्सिजन सेट गरिदिन्छौं,' उनले भने, 'चाहिएको औषधि प्रयोगसहित लेखिदिन्छौ । त्यसपछि घरमा बुझ्ने व्यकि्तलाई अक्सिजन ग्यास कसरी चलाउने र बढी कम कसरी गर्ने सिकाउँछौं ।'

यसका साथै ज्वरो र रुघाखोँकीको बिरामी बढन थालेपछि बैंकले पीसीआर चेकजाँचका लागि घरमै पुगेर स्वाब संकलनको व्यवस्थापन समेत गरेको बताए । होम आइसोलेशनमा सेवा दिँदै आएको क्लोथ बैंकले अब सुविधायुक्त आइसोलेसन कक्षसमेत चलाउन सोच अघि बढाएको जनाएको छ । यसका लागि प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्राविधिक सहयोग गर्न मागसमेत गरेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x