मधेश

जनकपुर उपमहानगरले सञ्‍चालन गर्‍यो अक्‍सिजनसहितको आइसोलेसन सेन्‍टर

संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो

सुभाष कर्ण |
बैशाख २८, २०७८ मगलवार १८:१५ बजे

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको अक्सिजन र स्वास्थ्यकर्मी सुविधासहितको आइसोलेसन कक्ष निर्माण गरेको छ । वडा- ४ स्थित गोपाल धर्मशालामा एक सय बेड पूर्वाधारसहित सुविधायुक्त आइसोलेसन कक्ष निर्माण गरिएको मेयर लालकिशोर साहले जानकारी दिए ।

उनका अनुसार, सय बेडको आइसोलेसन बनाएको भए पनि २५ वटा अक्‍सिजनसहितको ४० बेड मात्र सञ्‍चालनमा ल्याइएको छ । संक्रमितको चापअनुसार बेडहरू सञ्‍चालनमा ल्याइनेछ । 


'कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि बढी ध्यान दिएका छौँ,' उनले भने, 'उपमहानगरपालिकाले २५ वटै वडाको टोल-टोलको सडक तथा गल्लीहरूमा सेनिटाइज्ड गर्दै आएका छौँ।'

उनकाअनुसार आइसोलेसन कक्षमा बस्ने संक्रमितहरूका लागि खाना, औषधि र अक्सिजनको उपमहानगरपालिकाले नि:शुल्क व्यवस्था गरेको छ भने संक्रमितलाई ल्याउने र घरसम्म पुर्‍याउनका लागि २४सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ । संक्रमितको हेरचाह र स्वास्थ्य उचारका लागि तीन सिफ्टमा एक चिकित्सकसहित ३/३ स्वास्थ्यकर्मी २४सै खटाइएको छ ।

उनले आइसोलेसनका लागि प्रादेशिक अस्पताल र प्रदेश सरकारलाई दक्ष चिकित्सक उपलब्ध गराई दिन पटक-पटक आग्रह गर्दा पनि कुनै चासो नलिएपछि गुनासो गरे । हाल आइसोलेसन कक्षमा एक दर्जनभन्दा बढी संक्रमितहरू बसेका छन् । गम्भीर अवस्था भएपछि थप उपचारका लागि प्रादेशिक अस्पतालमा समन्वगरी पठाउने गरेको पनि उनले जानकारी दिए । 

'होम आइसोलेसनमा बसेका संक्रमितहरूको अनुगमनका लागि स्वास्थ्यकर्मीसहितको ३/३ जनाको ६ वटा टोली नगरभित्र खटाएका छौं,' उनले भने, 'टोलीले होम आइसोलेसनमा बसेकाहरूको घरमै पुगी आइसोलेसन बस्ने मापदण्ड र आवश्यक औषधि बारे जानकारी र असहायलाई उपलब्ध गराउने गरेको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे प्रत्येक दिन स्वास्थ्य महाशाखामा रिपोर्टिंङ गर्ने गरेको छ ।' 

अनुगमनका आधारमा उपमहानगरपालिकाले अक्सिजन र औषधिको व्यवस्थापनका साथै आवश्यकता परेको खण्डमा अस्पतालसम्म पुर्‍याउने कामलाई निरन्तरता दिँदै आएको उनले बताए । उनका अनुसार,संक्रमण फैलिन नदिन सर्तकताका लागि कन्ट्रयाक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रूपमा निरन्तरता दिइएको छ । प्रत्येक वडामा ५ जनाको सिआईसी टीम खटाएको र टोलीले कन्ट्रायक्ट ट्रेसिङ्गमा परेकाहरू र लक्षण देखिएका व्यक्तिहरूको पीसीआर चेकजाँचका लागि स्वाब संकलन गरिएको छ ।

पहिलो चरणको संक्रमणमा रोकथाम, उपचार, क्वारेन्टिन/आइसोलेशन व्यवस्थापन र राहतमा उपमहानगरपालिकाले करिब ४ करोड खर्च गरेको बताउँदै प्रदेश सरकारले २५ लाख रुपैयाँ मात्रै दिएको दुखेसो पोखे । दोस्रो चरणमा दुवै तहका सरकारले कुनै सहयोग नगरेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x