मधेश

रौतहटमा कोभिडले पत्रकार र सञ्चार उद्यमीको मृत्यु

राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग

सुभाष कर्ण |
बैशाख ३०, २०७८ बिहीबार ८:४३ बजे

कोभिडले मृत्यु भएका पत्रकार मनोज चौधरी

जनकपुरधाम : प्रदेश २ को रौतहट जिल्लामा एक पत्रकार र एक संचार उद्यमीको कोभिडका कारण मृत्यु भएको छ । जिल्लाको गरुडास्थित रेडियो मधेश मशालाका स्टेशन म्यानेजर पत्रकार मनोज कुमार चौधरी र गौरस्थित रेड टेलिभजनकी सञ्चालिका संचार उद्यमी रमादेवी यादवको कोभिड संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।

उनका अनुसार पत्रकार चौधरीको विरगञ्जस्थित नारायण अस्प्तालमा र संचार उद्यमी रमादेवीको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पत्रकार चौधरी ज्वरो रुघाखोकी लागेपछि पीसीआर चेकजाँच गराउंदा वैशाख १३ गते संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेका थिए । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गतेदेखि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधवार साँझ ६ बजेको समयमा मृत्यु भएको अध्यक्ष झाले जानकारी दिए ।


करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार चौधरीको परिवारमा श्रीमति र एक छोरी छन् । कोरोना महामारीका बेलामा गाउँ गाउँमा घुमेर समाचार संकलन गर्दै आइरहेको क्रममा उनी संक्रमित भएका थिए ।

संचार उद्यमी रमादेवीलाई पनि ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि एक हप्ता अगाडि संक्रमण पुष्टि भई गौरस्थित जिल्ला अस्पतालमा उपचार हुँदै आएको थियो । रमादेवी नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष जय प्रकाश यादवका श्रीमति हुन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्णले फ्रन्टलाईनरको रुपमा काम गर्दै आएका मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीको परिवारलाई उचित राहत उपलब्ध गराउन प्रदेश सरकारसँग मांग गरेका छन ।

प्रदेश सरकारले पहिलो चरणको कोभिडमा फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारको मृत्यु भएमा उचित राहत दिने घोषणा गरेको थियो । जसका लागि ५० लाख रुपैया समेत छुट्याएको थियो । सो घोषणा अनुरुप मृतक पत्रकार र संचार उद्यमीलाई राहत उपलब्ध गराई दिन सम्बन्धित आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग मांग अध्यक्ष कर्णले गरेका हुन् ।

प्रदेशमा अझै १६ जना पत्रकार संक्रमित भई होम आइसोलेशन र अस्पतालमा उपचाररत अवस्थामा रहेको जानकारी दिदैं फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारहरुको पेशागत प्रोत्साहन र सुरक्षाका लागि निःशुल्क उपचारको व्यवस्था र स्वास्थ्य सामाग्री उपलब्ध गराई दिन माग गरिएको छ ।

त्यस्तै मधेशी पत्रकार समाजका प्रदेश अध्यक्षले पनि एक विज्ञप्ति जारी गरी मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीलाई उचित राहत र पत्रकारहरुलाई काम गर्ने वातावरणका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई दिन प्रदेश सरकारसँग मांग गरेका छन् । 

अध्यक्ष रमणले प्रदेश सरकारले राहत र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई दिएको अवस्थामा पत्रकारिता पेशालाई प्रोत्साहित र पत्रकारहरुको मनोबल बढाउने बताएका छन् । दोश्रो लहरको कोभिड महामारीमा प्रदेश २ मा पहिलोपटक पत्रकार र सञ्चारउद्यमीको मृत्यु भएको हो । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x