मधेश

मधेश प्रदेश

मन्त्रालय बाँडफाँटबारे ६ दलीय गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो

सुभाष कर्ण |
जेठ ८, २०८० सोमवार १९:३१ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे ६ दलीय गठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गिएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा बैठक विनानिष्कर्ष टुंगिएको हाे । मन्त्रालय बाँडफाँटबारे कुरा नमिले पनि सरकार सञ्चालनबारे सैद्धान्तिक सहमति भएको बताइएको छ ।

बैठकमा सरकार सञ्चालनसहित कुन पार्टीलाई कति र कुन मन्त्रालय दिने लगायतका विषयवस्तुमा सैद्धान्तिक छलफल भए पनि टुंगाे लाग्न नसकेको बैठकमा सहभागी जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले बताएका छन् । उनले भने, ‘बैठकमा सबै दललाई सम्मानजनक रूपमा समेटेर लग्ने कुरा भए पनि कुन दललाई कुन र कति वटा मन्त्रालय दिने भन्ने बारेमा छलफल भएपनि टुंगाे लाग्न सकेन ।’


बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका दलका नेता अभिराम शर्माले मन्त्रालय बाँडफाँट कुरा उठे पनि सैद्धान्तिक विषयहरूमा छलफल मात्रै भएको र अब भोलि बस्ने बैठकबाट टुंगाे लाग्न सक्ने बताए ।

सरकार सञ्चालनबारे के कस्ता विषयमा सैद्धान्तिक सहमति भएको बारे नेता शर्माले नीति तथा कार्यक्रम कस्तो ल्याउने र बजेटमा सबै वर्गलाई कसरी समेट्न सक्ने लगायतका विषयवस्तुहरूमा सैद्धान्तिक सहमति भएको उल्लेख गरे ।

मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका कृष्ण यादव, लोसपाका अभिराम शर्मा, जनमत पार्टीका महेश यादव, माओवादी केन्द्रका भरतप्रसाद साह, नेकपा (एस) का गोविन्द न्योपानेको सहभागिता रहेको छ ।

शुक्रबार सत्तारूढ दलका शीर्ष नेताहरूसहित प्रदेशका दलीय नेताहरूको सहभागितामा भएको बैठकले वर्तमान जसपा नेतृत्वका सरकारलाई यथावत राख्दै मधेश प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।

अर्को कार्यकालको नेतृत्व कुन दलले कति समयका लागि नेतृत्व पाउने र मन्त्रालय भागबण्डाबारे आइतबार जनकपुरधाममा बस्ने प्रादेशिक दलीय नेताहरूबीचको छलफलबाट प्याकेजमा सहमति गरिने निर्णय गरिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x