मधेश

गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर-टहरामा डोजर

सुभाष कर्ण |
बैशाख ३१, २०७८ शुक्रबार १५:२ बजे

जनकपुरधाम :  जनकपुरधामस्‍थित गुठी संस्थानको जग्गामा अतिक्रमणगरी बनाइएका ३५ वटा घर प्रहरीको सहयोगमा भत्काएको छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका-१२ कुवा टोलस्थित गुठी मातहतको स्थानीय राजदेवी मन्दिरको पोखरी डिल अतिक्रमणगरी बनाइएका ३५ वटा घर टहरा भत्काइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्‍थितिमा डोजर लगाएर घर-टहरा भत्‍काइएको हो । ती घर टहरा भत्काउने क्रममा स्थानीयले विरोध गर्दै प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका थिए । स्थानीयले गरेको ढुंगामुढाले डोजरको सीसा फुटेर क्षति भएको छ भने डोजर चालकसहित दुईजना प्रहरीसमेत सामान्य घाइते भएको उनको भनाइ छ । उनकाअनुसार प्रहरीमाथि हातपात प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रूपमा बनाइएका बाँकी घर टहरा पनि भत्‍काइने उनले बताए ।


यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्‍धुप्रसाद बास्‍तोलाले गुठी संस्थान कार्यालय धनुषाबाट स्थानीय राजदेवी मन्दिरको पोखरी डिलमा अतिक्रमित जग्गा मुक्त गराउन सिफारिस भई निवेदन आएकोमा अतिक्रमणमुक्त गराइएको बताए । 'हामीलाई जग्गा अतिक्रमण गराउन आवश्यक सहयोग गरिदिन आएको निवेदनको आधारमा प्रहरी परिचालनगरी अतिक्रमण मुक्त गराइएको हो,' उनले भने, 'हामीले सुरक्षामात्रै प्रदान गरेका हौ ।'

बिहीबार अतिक्रमणमुक्‍त गराइएको जग्‍गामा वर्षौदेखि टहरा बनाइएका थिए । कोभिड महामारीका बेला अतिक्रमणमुक्‍त गराउन गुठी किन अघि सर्‍यो ? राजदेवी मन्दिरका महन्थ तुलसी गिरी अतिक्रमणको कारण पोखरीसँगै रहेको अर्बौ मूल्य बराबरको गुठीको २२ विगाह जग्गाको प्लट नै कब्जा गर्ने क्रम सुरु भएपछि अहिले नै गर्नुपरेको बताउँछन् । २२ विगाह जग्गामासमेत घर टहरा बन्न थालेपछि गुठी संस्थानको केन्द्रीय कार्यालयको निर्देशनानुसार नयाँ बनेका ती घरहरूसहित पोखरी डिलमा रहेका घरहरू भत्काएर अतिक्रमण मुक्त गराउन लागिएको उनले बताए । 

गिरीकाअनुसार पोखरी डिल अतिक्रमणगरी करीब २ सय जति घर अवैध रूपमा बनाइएको छ । गुठीको निर्देशनानुसार ती सबै घर टहरा हटाई डिल र मन्दिर मातहत रहेका जग्गा अतिक्रमण मुक्त गराइनेछ । 

केही दिनअघि स्थानीय भजन मुखिया र मंगनिया मुखियालगायत व्यक्तिले पोखरी नजिकै रहेको २२ विगाह जग्गाको प्लटमा अतिक्रमणगरी नयाँ घर बनाएपछि स्थानीयवासीले ती पूरै जग्गा कब्जा गर्ने प्रयास गरेका थिए । अतिक्रमणको २४ घण्टा नबित्दै मन्दिरका महन्थ र केही स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रहरी लगाएर हटाइएको हो ।

घर टहरा भत्काइएपछि दुई दर्जनभन्दा बढी स्थानीयको बिचल्‍ली भएको छ। कोभिड महामारीमा घरबारविहीन भएपछि उनीहरू समस्‍यामा परेका छन् । पीडित मध्येका एक बहादुर मुखियाले कुनै जानकारी नै नदिइ घर भत्‍काइ दिँदा आफूहरूलाई समस्‍या भएको बताए । 'हामी सुकुम्बासी हौं,' वर्षौदेखि घर बनाएर बस्दै आएका थियौं, घर नै भत्काउनु थियो भने हामीलाई केही समयावधि दिनु पथ्र्यो । दिएन' दुखेसो पोख्‍दै उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x