मधेश

अनुचित लेनदेन अध्यादेश खारेजको माग गर्दै प्रदर्शन

सुभाष कर्ण |
जेठ ११, २०८० बिहिवार २०:४० बजे

जनकपुरधाम- धनुषा–महोत्तरी लेनदेन संघर्ष समितिले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । समितिले अनुचित लेनदेन सम्बन्धी सरकारले ल्याएको अध्यादेशले समाजमा व्यक्ति-व्यक्तिबीच वितृष्णा ल्याएको भन्दै यसलाई तत्काल खारिज गर्नुपर्ने गरेकाे छ ।

प्रदर्शनमा सहभागीहरूले सरकारले लेनदेन सम्बन्धी अध्यादेश खारेज गर, मिटरब्याजको नाममा हुने साहु महाजनलाई हुने अन्याय बन्द गर, कानुन बमोजिम गरिएको लगानी फिर्ता गरियोस्, ऋणब्याज बन्द होइन सहजीकरण गरियोस् लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।


मिटरब्याज भनेर साहु महाजनलाई कारबाही गर्न ल्याएको अध्यादेशले समाजमा कयौँको विवाह राेकेको, गाउँघरमा बिरामीले उपचार गराउन पाउन सकिरहेको छैन, वैदेशिक रोजगार रुकिसक्यो, श्राद्धकर्म लागयतका काममा समस्या उत्पन्न भएको धनुषा महोत्तरी लेनदेन संघर्ष समितिका सचिव शम्भु यादवले बताए ।

‘मिटरब्याजको हल्ला र यो अध्यादेशले समाजमा सबै काम रुकिसकेको छ, बैंक तथा वित्तीय संस्थाले बिना धितोको गरिब भूमिहीनलाई ऋण दिँदैन, धितो राखे पनि आवश्यक परेको बेलामा ऋण नपाई महिनौँ लाग्ने गरेको समस्या छ । तर, साहु महाजनले धिताेविनै गरिब भूमिहीन सबैलाई आवश्यक परेको बेलामा उपलब्ध गराउने गरेको थियो,' उनले भने, 'तर, अब गाउँघरमा आवश्यक परेको बेलामा एक/दुई हजार रुपैयाँ पनि कसैले दिन मानिरहेको छैन ।’

अध्यादेश खारेज गरी लेनदेनमा प्रतिबन्ध होइन सहजीकरण गरिदिन उनले माग गरे ।

प्रदर्शनसंगै उनीहरूले विभिन्न ६ बुँदे मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान, लेनदेन सम्बन्धी उजुरीविना प्रमाण दर्ता गर्न नसक्ने, जिल्ला प्रशासन कार्यालयमा दर्ता उजुरीको जाँचबुझ तथा छलफलको अधिकार स्थानीय तहलाई देउ, कानुन बमोजिम साँवा र ब्याजसहित उपलब्ध हुनुपर्ने लगायत माग गरेका छन् ।

उनले केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा गर्न लागिएको प्रति दुःख व्यक्त गर्दै आफूहरूको माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x