मधेश

जनकपुरधाम उपमहानगर प्रमुखको रमाना पत्र फर्जी

सुभाष कर्ण |
जेठ १५, २०८० सोमवार २०:४१ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीकाे रमाना पत्र फर्जी रहेको आरोप लगाइएको छ । करिब ८ महिनाअघि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सरुवा भएर जनकपुरधाम उपमहानगरपालिकामा आएका उपसचिव रत्नेश शशीको रमाना पत्र फर्जी रहेको आरोप लगाइएको हो ।

मन्त्रालयका सचिव नम्रता सिंहलले २०७९ असोज ९ गते जनकपुरधाम उपमहानगरपालिकालाई पत्राचार गरी उपसचिव शशीको आफ्नो रमाना आफैँले सही छाप गरेको र उपरोक्त विवरण उल्लेख नगरेको हुँदा सो रमाना आधिकारिक नभएको र निजको गयलकट्टी भएको अवधिको रेकर्ड कायम गरी आवश्यक कारबाही गर्न भनेकी छिन् ।


उपमहानगरपालिकाको कार्यालयमा सरुवाका लागि आफैँले गुपचुप रूपमा रमाना पत्रमा सहीछाप गरी करिब दुई सातासम्म गयल भएको पत्रमा उल्लेख छ ।

उपसचिव शशीले मन्त्रालयमा विनाजानकारी विभिन्न मितिमा अनुपस्थित रहँदै आएको हुँदा मन्त्रालयको ०७९ भदौ २८ को निर्णयानुसार निजामती सेवा ऐन अनुसार १३ दिनको गयलकट्टीसहित कारबाहीका लागि उपमहानगरलाई पत्राचार गरिएको मन्त्रालयका सचिव सिंहले बताइन् ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) बमोजिम मिति २०७९।०४।२६ देखि २०७१।०५।०९ गतेसम्म जम्मा १३ दिन हाजिरी गयलकट्टी गरिएको र अब आइन्दा यस्तो कार्य या आवरण नगर्न चेतावनी समेत दिइएको पत्रमा उल्लेख छ ।

यस सम्बन्धमा उपसचिव शशीले आफ्नो रमाना पत्र फर्जी नरहेको दाबी गर्दै कसैले व्यक्तिगत रिसिइबी साध्न पत्राचार गरेको बताए । उनले भने, ‘संघीय मामिला मन्त्रालय लगायतका सम्बन्धित सबै ठाउँमा मेरो कागजात छ, कसैले फर्जी कागजात भनेर मिडियाबाजी गरेर मेरो केही बिगार्न सक्दैन ।’ 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x