मधेश

सत्तारुढ दलकै सांसदले गरे मधेश सरकारको आलोचना

सुभाष कर्ण |
जेठ १७, २०८० बुधबार २१:४९ बजे

जनकपुरधाम - मधेश प्रदेशस्थित सत्तारूढ दलका सांसदले नै सरकारको आलोचना गरेका छन् । 

बुधबार बसेको पहिलो अधिवेशनको १६औं बैठकमा सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सभा सदस्य रानी कुमारी तिवारीले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आक्रोश पोखेकी हुन् । 


तिवारीले सभा सञ्चालन हुँदै गर्दा सरकारका कुनैपनि मन्त्री उपस्थित नरहेको भन्दै गम्भीर आपत्ति जनाइन् । उनले भनिन्, ‘कुन नियमले हामी यो सभा सञ्चालन गर्दैछौं ? कहाँ छन् मुख्यमन्त्री र उनका सरकारका मन्त्रीहरु? के मन्त्रीज्यूहरु बजेट बाँडफाँडमा व्यस्त हुनुहुन्छ ? सभा चलाउने फुर्सद छैन भने हामी किन चलाउने ? यो सरकार कहाँ हराएको छ, सरकारको उपस्थिति किन भएन ? हामीमाथि प्रश्न उठ्दैछ ।’

निकै आक्रोशित मुद्रामा प्रस्तुत भएकी सांसद तिवारीले सरकारको लागि प्राथमिकतामा प्रदेशसभा नभइ बजेटमा आ आफ्ना हकहिस्सा बाँडफाँड रहेको बताइन् । उनले सरकार गठनको एक वर्ष बित्न लागेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् । 

‘सरकारले खोई प्रदेशसभाको महत्व बुझेको ? आ आफ्नो भागबण्डामा लागेर प्रदेशसभाको महत्व नै बिर्सिने मुख्यमन्त्री र मन्त्रीहरू बस्ने ठाउँ खाली हेर्दा लाज लागिरहेको छ । दुर्भाग्य भनौं आज यहाँ एउटा पनि मिडिया छैन, त्यसैले उहाँहरूको भाग्य तेज छ । नत्र यो मिडियाका लागि ठूलो विषय बन्थ्यो होला, ’उनले हामी यहाँ बोलेर सिधा जान्छौं, कार्यान्वयनको अवस्था खोई त भनी प्रश्न गरिन् ।’

तिवारीले बोलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले उनको समर्थन गर्दै भने, ‘सरकारको मन्त्री बोलाउनु पर्यो, हाउस सुनसान छ । तुरुन्त मन्त्री बोलाउनु पर्यो, नत्र हामी हाउस अवरुद्ध गर्छौं ।’ 

त्यसपछि सभामुख बबिता राउत इशरले राज्यमन्त्री जी हुनुहुन्छ, हाउस चल्न दिनुस् भनेपछि तिवारीले विना विभागीय राज्यमन्त्री संजयकुमार यादवतर्फ इंगित गर्दै भनिन, ‘उहाँ राज्यमन्त्री हुनुहुन्छ, उहाँलाई क्याबिनेटमा जाने अधिकार छैन । सभामा क्याबिनेटमा बस्ने मन्त्री चाहियो न कि राज्यमन्त्री ।’ 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x