मधेश

एमालेले मधेशी जनताको भविष्य बरबाद गर्न खोज्यो : मन्त्री रिजाल

इकागज |
जेठ २३, २०८० मगलवार १६:३८ बजे

जनकपुरधाम - संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले एमाले सहितका केही राजनीतिक दलले मधेशका लाखौं जनताको भविष्य बरबाद गर्न खोजेको आरोप लगाएका छन् । 

मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा सम्मान तथा अन्तक्रियामा सहभागी मन्त्री रिजालले संविधानमै टेकेर कानुन बनाएर नागरिकता समस्या समाधान गर्न खोज्दा एमालेसहितका केही राजनीतिक दलले विरोध गर्दै सुनियोजित रुपमा सर्वोच्च अदालतबाट रोक्न लगाएको आरोप लगाए ।


उनले भने, 'नागरिकता अभावमा लाखौं नेपाली नागरिकका सन्तानहरु पढ्न नसकेको, रोजगार व्यवसाय गर्न पाएको छैन, बैंकमा खाता खोल्न नपाएर कारोबार गर्न नपाएको लगायतका समस्या भोगिरहेको पीडा नदेखेर हामीले संवैधानिक व्यवस्था बमोजिम विधेयक प्रमाणीकरण गराएर प्रक्रिया अगाडि बढायौं । तर मधेश विरोधी पार्टीहरुले सर्वोच्चमा रिट दिलाएर रोक्न लगाउनु दुखद ।' 

मन्त्री रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको दाबी गर्दै नेपालको जलविद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले वर्तमान सरकारले मुलुकको विकासका लागि सम्भावित सबै क्षेत्रलाई चलायमान बनाउन चाहेको बताउँदै गरिखानेलाई सबै प्रकारको समस्याको समाधान तथा सहयोग गर्नका लागि तयार भएको र त्यसै अनुसारको नीति तथा कार्यक्रम ल्याइएको बताए । 

एक अर्को प्रसंगमा पुराना उद्योग पुनः संचालनमा ल्याउनेबारे मन्त्री रिजालले भने, 'चुरोटले मानिसको स्वास्थ्य बिगार्ने भएकाले सरकार स्वयं जनकपुर चुरोट कारखाना चलाउने पक्षमा छैन । यहाँको जग्गासहितका सम्पति अन्य काम प्रयोग गर्नेमा सहयोग गर्न तयार छ ।'

मन्त्री रिजालले व्यवसायीहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए आफू कहाँ आएर तुरुन्त समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भने, 'सरकारले व्यवसाय गर्ने होइन वातावरण निर्माण गर्ने हो ।' सरकार नै व्यवसायी बने भने जनता भिखारी हुन जान्छ । वर्तमान आर्थिक संकटको बेला उद्योग व्यवसायमा सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको उनले बताए । 

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले औद्योगिक विकास विना समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य हाँसिल गर्न कठिन भएको बताउँदै युवालाई रोजगारीमा नलगाएसम्म मुलुकलाई अगाडि बढाउन कठिन भएको बताए ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अधयक्ष जितेन्द्र महासेठ ढुवानीका कारणले सामान उत्पादन र निर्यातमा खर्च बढी पर्ने गरेकाले महोत्तरीको जलेश्वरस्थित नाकालाई ठूलो नाका बनाउन आग्रह गरे । उनले सरकारले जग्गा सहितका उद्योग संचालनको वातावरण बनाएमा धनुषामा ३० वटासम्म नयाँ उद्योग संचालनमा आउने बताए । 

अध्यक्ष महासेठले जनकपुर क्षेत्रको औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक सुझाव सहितको पाँच बुँदाको ज्ञापनपत्र समेत मन्त्री रिजाललाई बुझाएका थिए ।  सो कार्यक्रममा प्रदेश सांसद शेषनरायण यादव, काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना सहितका वक्ताहरूले पनि आ आफ्ना धारणा राखेका थिए ।


Author

थप समाचार
x