मधेश

स्थानीयले मिथिला नगरपालिकामा गरे तालाबन्दी

इकागज |
जेठ २४, २०८० बुधबार १९:२५ बजे

जनकपुरधाम। मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लगायतका प्रक्रिया रोकिएपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेको छ । इमरजेन्सी सेवा सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेपछि आक्रोशित स्थानीयले नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो । 

नगरपालिकाद्वारा अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशनसहितका सम्पूर्ण प्रक्रिया पूरा भई कर्मचारी भर्नाका लागि जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिइने कार्यक्रम रहेको अवस्थामा एक्कासी स्थगित भएपछि आक्रोशित स्थानीयले नगरपालिकाका आएर नाराबाजी गर्दै तालाबन्दी गरेको स्वास्थ्य शाखाका प्रमुख अशोक भण्डारीले बताए । 


अन्तवार्ताको दुई दिन समय बाँकी रहेको अवस्थामा नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकी र एमालेबाट निर्वाचित केही बोर्ड सदस्यले कार्यकारी अधिकृत बसन्त न्यौपानेलाई  दबाव दिएर रोक्न लगाएका आरोप लगाइएको छ । 

तालाबन्दी गरेका मध्ये परमेश्वर महतोले भने 'ढल्केवर अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि विज्ञापन गरिएको अनमीसहितका पदका भर्ना प्रक्रिया एक्कासी अन्तिम समयमा रोकिएकाले तालाबन्दी गरेका हौं ।' उपमेयर बुढाथोकी र एमालेबाट निर्वाचित बोर्डका केही सदस्यहरुले नियतवश आफ्ना मान्छे भर्ना गर्न रोक्न लगाएका रोक्न लगाएको उनको आरोप छ । 

घटनाबारे कार्यकारी अधिकृत न्यौपानेले भने अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि हामीले विज्ञापन गरेका थियौं, अन्तवार्ताका लागि जेठ २५ गतेका लागि मिति पनि तोकियौं । तर कार्यपालिका सदस्यहरुबाट छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सुझाव आएपछि हालका लागि अनमी पदको अन्तवार्ता  स्थगित गर्नु परेको हो । 

अधिकृत न्यौपानेले एमाले कार्यपालिका सदस्य र उपमेयरको दबावमा भर्ना प्रक्रिया रोकिएको कुरा नखुलाएपनि तिनीहरुको दवाबमा गरिएको भन्ने कुरा उनले प्रकाशन गरेको स्थगित सूचनामा केही सदस्यहरुको सुझाव आएको भनिएको कुराले प्रष्ट हुन्छ । 

यस सम्बन्धमा नगरपालिकाका मेयर महेन्द्र महतोले सरसफाईदेखि इमरजेन्सी सेवा सहितका आवश्यक कर्मचारी पूर्ति गर्न नगरपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाएपछि कार्यपालिकाका सदस्यहरुले कार्यविधिबाट काम अगाडि बढाउन भनेपछि कार्यविधि बनाएर पनि अघि बढेपछि उनीहरुले अवरोध गर्ने काम गरेको बताए । घटना बारे उपमेयर बुढाथोकीलाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।

मेयर महतोले भने कार्यपालिकाको सदस्य साथीहरुको छलफलबाट कार्यविधि अनुसार इमरजेन्सी सेवा संचालनका लागि अनमी सहितका कर्मचारी भर्ना गर्न खाजेपछि अन्तवार्ताको अन्तिम समयमा आएर अधिकृत न्यौपानेलाई दबाव दिएर रोक्न लगाएको हो । उनले भने ढल्केवरको विकास नचाहने साथीहरुले यस्तो कार्यमा लागेको हो ।

इमरजेन्सी सेवा संचालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ भने कर्मचारी भर्नाको तयारीमा जुटेका छन् । गएको असोज १२ गतेमै नगरपालिकाले मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४, स्वीपर २ जनासहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो । सो विज्ञापन अनुसार अनमी पदको अन्तवार्ता स्थगित गरिएको हो । अन्य पद बारे अहिले कुनै निर्णय नगरिएको बुझिएको छ । 

मेयर महतो निर्वाचित भए लगतै राजमार्ग भएका कारण अत्यधिक दुर्घटना हुने गरेको र ढल्केवरमा इमरजेन्सी सेवा नहुँदा उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा लाग्दालाग्दै मृत्यु हुने गरेको कारण ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा संचालन गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले प्रक्रिया अगाडि बढाउन खोज्दा उपमेयर र एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु अवरोध कार्यमा जुटेको बताइएको छ ।


Author

थप समाचार
x