मधेश

मधेश प्रदेश :

नीति तथा कार्यक्रम पनि विनियोजन विधेयक जस्तै कपिपेस्ट

सञ्‍चालनमै आउन नसकेका योजना तथा कार्यक्रमलाई निरन्तरता

सुभाष कर्ण |
जेठ २५, २०८० बिहिवार ९:४० बजे

जनकपुरधाम- आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक गत वर्षको कपिपेस्ट रहेको आरोपका बीच प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कपीपेष्ठ नै रहेको देखिएको छ । आगामी आ.व.को नीति तथा कार्यक्रममा बुँदा नम्बर १ देखि २५ सम्ममा मात्रै १७ वटा बुँदामा त फुलिस्टप, कमासम्म पनि परिवर्तन नगरी हुबहु नै चालु आ.व. को कपिपेस्ट रहेको छ ।

१८९ बुँदामा रहेको नीति तथा कार्यक्रमको ७० प्रतिशतभन्दा बढी चालू आ.व.कै निरन्तरता तथा हुबहु रहेको छ । चालु आ.व. मा समावेश गरिएका योजनाहरूमध्ये सञ्‍चालनमा आउन नसकेका आधा जति योजनालाई यस वर्ष प्राथमिकताका साथ निरन्तरता दिइएको छ । पुरानै वर्षकै निरन्तरता दिइएको कार्यक्रमहरूमध्ये योजनाहरूमा केही यस्ता छन् जुन ३/४ वर्षदेखि राखिए पनि सञ्‍चालनमा आउन सकेको छैन । 


आगामी आ.व. को नीति तथा कार्यक्रममा २० वटा बुँदामध्ये प्रादेशिक आयोजना बैंकमा योजनाहरू प्रविष्टि गरी योजनाहरू सञ्‍चालन, लगानी सम्मेलन गरी श्रोतमा अभिवृद्धि, प्रदेश सरकार प्रशासनिक स्थायी संरचना निर्माण कार्य अघि बढाइने, कृषि उपजमा सहयोग पुर्‍याउन, स्क्रिन हाउस, भण्डारण गृह, शीत भण्डारणको अधुरो योजना पुरा गर्ने र बीउ प्रशोधन केन्द्रको निर्माणलगायतका योजनाहरू चालु आ.व.मा पनि राखिएको थियो । तर १० महिना बितिसक्दा पनि पुरा हुने छाँटकाट देखिँदैन ।

यस्तै मधेश कृषि विश्वविद्यालयको नेतृत्वमा कृषि तथा पशु सेवा क्षेत्रमा अध्ययनरत  स्नातक वा स्नातकोत्तर तहको प्राविधिक जनशक्तिलाई स्थानीय तहसँग समन्वय गरी किसानसम्म प्रविधि हस्तान्तरणको लागि कार्य प्रशिक्षण, माटो परिक्षणका लागि प्रयोगशाला निर्माण, वडामा पालिका तथा निजी क्षेत्रहरूसँगको सहकार्यमा एक एक जना एग्रोभेट प्राविधिक परिचालन गरी पशु स्वास्थ्य सेवा घरदैलोसम्म पुर्‍याइने चालु आ.व. को कार्यक्रम आगामी वर्षमा पनि राखिएको छ । जुन पूरा हुने अवस्था देखिँदैन ।

खानेपानी कार्यालयहरूको आफ्नै भवन र परीक्षण प्रयोगशाला निर्माण, ‘स्वास्थ्य जल स्वस्थ्य जीवन’ को नाम परिवर्तन गरेर ‘निर्मल जल, घर घर नलजल’, हाम्रो प्रदेश उज्यालो प्रदेश, प्रादेशिक सडक सञ्जाल, जहाँ सडक त्यहाँ विकास, झोलँगे पुल निर्माण, मधेश शहीद राजमार्ग निर्माण, यातायात तर्फको भीएफटी, यातायात कार्यालय आफ्नो भवन निर्माण र एक निर्वाचन क्षेत्र एक सडकसहितका योजनाहरू आगामी आ.व. मा पनि राखिएको छ, जुन सञ्‍चालनमै आउन सकेको छैन । 

पत्रकारहरूको लागि राखिँदै आएको प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूबाट उत्पादन हुने विज्ञापन/सूचनाहरूलाई व्यवस्थित गर्न मधेश प्रदेशकै सञ्चार माध्यमहरूबाट प्रकाशन एवं प्रसारण  गर्न एकद्वार सूचना प्रणाली अवलम्वन, पत्रकार वृत्ति विकास कार्यक्रम, मधेश पत्रकारिता पुरस्कार, पत्रकार अध्ययन छात्रवृत्ति तथा महिला पत्रकारहरूको लागि विशेष सुरक्षा कार्यक्रम सञ्चालन गरिने कार्यक्रम यसवर्ष पनि राखिएको छ । जुन कहिले पनि सञ्‍चालनमा आएन ।

यी बाहेक केही यस्ता कार्यक्रम छन् जुन सञ्‍चालनमा छन् र त्यसलाई आगामी आ.व. मा पनि समावेश गरिएको छ । यी कार्यक्रममध्ये मुख्यमन्त्री स्वच्छता अभियान, कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट गरेकालाई प्रदेश पदक प्रदान, सुरक्षित बेटी अभियान, बेटी बचाउ बेटी पढाउन अन्तर्गतका कार्यक्रम, महेन्द्र नारायण निधि विपन्न आवास निर्माण, जनता आवास, ज्येष्ट नागरिक तथा दलित सामुदायिक भवन निर्माण लगायतका रहेका छन् । 

प्रदेश सरकारले मधेश आन्दोलन, जनयुद्धलगायत जनआन्दोलनका शहिद तथा पीडित परिवारको सम्मान, आर्थिक सहायता, भरणपोषण, छात्रवृत्ति, रोजगारमुलक तालिम लगायतका परिपूर्ण कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता दिइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x