मधेश

नागरिकतासम्बन्धी अध्यादेश र प्रतिनिधि सभा विघटन

प्रदेश २: कतै दीपावली, कतै विरोध प्रदर्शन

सुभाष कर्ण |
जेठ १०, २०७८ सोमबार १२:३८ बजे

जनकपुरधाम : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनेगरी ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको खुसीयालीमा जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लामा दिपावली मनाइएको छ भने प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहले जनकपुरधामको जनक चौकमा मैनवती बालेर राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको खुसीमा दिपावली मनाएका हुन् । धनुषाको जनकपुरधामसँगै सिरहा, सप्तरी, रौटहट, सर्लाही, महोत्तरी, बारा र पर्सासहितका जिल्लाको सदरमुकाम र विभिन्न स्थानीय तहमा आइतबार साँझ दिपावली मनाइयो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य मनोज चौधरीले नेतृत्वलाई मधेशको माग र मुद्दा सम्बोधनका लागि अगाडि बढ्न आग्रह गरे । उनले नागरिकता विधेयक जारी गरेकोमा वर्तमान सरकारलाई धन्यवाद समेत दिए ।


केन्द्रीय सदस्य चौधरी उमेश मण्डललगायतका नेता कार्यकर्ताहरूले मनतव्यको क्रममा मधेशको मुद्दा र मधेशी जनताको हकहितका लागि गरिएको निर्णयहरू साकारात्मक रहेकोले पछाडि नहट्न नेता कार्यकर्तालाई आग्रह गरे । 

सो दीप प्रज्वलन कार्यक्रममा जसपाका नेताहरु उमेश मण्डल, राजु चौधरी, मनोज चौधरी, सदाशिव मिश्र, देवकृष्ण मण्डल, रमेश अधिकारी, रामविनोद चौधरी र प्रशान्त झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयद्वारा नागरिकता सम्बन्धी विधेयक जारी गरिएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहका नेता कार्यकर्ताहरूले नेकपा माओवादीको सहभागितामा संविधानविपरीत प्रतिनिधि सभा विघटन गरिएको भन्‍दै राष्ट्रपति विद्यादेवी देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विरोध प्रदर्शन गरे । उनीहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजीसहित नगरको विभिन्नको परिक्रमा गर्दै जनकपुरधामको शिव चौकमै आइतबार साँझ पुतला दहन समेत गरे ।

जसपाको उपेन्द्र यादव समूहका नेता शेषनारायण यादवले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधानको धज्‍जी उडाएको आरोप लगाउँदै प्रतिनिधि सभा पुनःस्थापित गर्नुपर्ने माग गरे।

उनले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु संविधानको मर्मविपरीत रहेको आरोप समेत लगाए । मुलुकलाई राजनीतिक निकास दिनुको साटो राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको इशारामा संसद विघटन गरी जनताको भावनासँग खेलवाड गरेको प्रदर्शनमा सहभागी नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले आरोप लगाए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x