मधेश

प्रदेश-१मा विपक्षी दलले गरे बजेट अधिवेशन बोलाउन माग

लीलावल्लभ घिमिरे |
जेठ १२, २०७८ बुधबार १६:५४ बजे

विराटनगर : प्रदेश–१ सभाका विपक्षी दलले बजेट अधिवेशन बोलाउन माग गरेका छन् । प्रदेश सरकार सभाबाट भागेर अध्यादेशमार्फत् बजेट ल्याउने चोर बाटोको खोजीमा रहेको भन्दै दलहरूले अभिवेशन माग गरेका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्चले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अधिबेसनको माग गरेका छन् । उनीहरुले प्रदेश सरकारले सदनलाई छलेर बजेट ल्याए त्यसको ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिँदै तत्काल बजेट अधिवेशन बोलाउन माग गरेका छन् । 


प्रदेश कार्यविधि ऐन र प्रदेशसभा नियमावली अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअघि पूर्वबजेट छलफल भइसक्नुपर्ने वााध्यात्मक व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छैन । प्रदेशले हरेक असार १ गते आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्नु पर्ने हो । 

‘संसद् जिवित रहेको अवस्थामा यहाँबाट भागेर जाने प्रयासविरुद्ध हामी दृढतापूर्वक उभिनेछौँ’, कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने,‘भ्रष्टाचारविरुद्ध सदनमा आवाज उठ्ने त्रासले संसद् छल्न सरकार लागेको छ ।’ 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद् छलेर बजेट ल्याउने प्रयासमा सरकार रहेको भन्दै त्यसो नगर्न चेतावनी दिए । ‘गत वर्षपनि मुख्यमन्त्रीसहित सबै जना अध्यादेशबाट बजेट ल्याउनु पर्छ भन्नेमा थिए तर मैले नमानेका कारण बजेट अधिवेशन डाकियो,’ उनले भने, ‘यस पटक त्यही चोर बाटोको खोजीमा सरकार छ ।’ 


 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x