मधेश

बिरामीको उपचारमा लापर्बाही नगर्न उच्च अदालतको आदेश

सुभाष कर्ण |
जेठ १४, २०७८ शुक्रबार १८:१७ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमितसहितका बिरामीको उपचारमा लापरवाही नगर्न उच्च अदालत जनकपुरधामले प्रदेश २ सरकार र प्रादेशिक अस्पताललाई आदेश दिएको छ । कोभिड बिरामीसहित आम नागरिकले सहज स्वास्थोपचारको माग गर्दै अधिवक्ता राजकुमार महासेठले मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताललाई विपक्षी बनाइ रिट दायर गरेका थिए । 

अधिवक्ता महासेठले गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश डालकुमार खडकाको एकल इजलाशबाट यस्तो आदेश दिइएको हो । साथै पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधि आदि हुँदाहुँदै अस्पतालमा भर्ना नलिई निजी अस्पतालमा रेफर नगर्न आदेशमा समेत भनिएको छ । उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालहरूमा बिरामीको उपचारमा लापरवाही हुँदै आएको यस्तो नगर्न भन्दै सम्बन्धित निकायले व्यवस्थापन गर्न आदेशमा भनेको छ । 


साथै अदालतले प्रादेशिक अस्पतालमा कोभिडका बिरामीका लागि कति बेड छुट्याइएको छ, कति र कुन स्तरका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ, अस्पतालले दैनिक कति बिरामीको उपचार गर्दै आईरहेको छ, कति बिरामी कोभिडको उपचार गरेर संक्रमण मुक्त भएका छन् लगायतका विवरण प्रत्येक हप्ता बुझाउन विपक्षीहरूलाई आदेश दिएको छ । 

अदालतले मागेका विवरणसहित प्रदेशको मुख्यन्यायधिवक्ताको कार्यालय वा सरकारी वकिलको कार्यालयमार्फत १५ दिन भित्र अदालतमा बुझाउनका लागि आदेश दिइएको अधिवक्ता महासेठले बताए ।

 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x