मधेश

प्रदेश २ मा नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी

पर्याप्त छलफल नै नभएको प्रदेश सांसदको गुनासो

सुभाष कर्ण |
जेठ १६, २०७८ आइतबार १९:३१ बजे

फाइल फोटो

जनकपुरधाम : संघीय सरकारले शनिबार बजेट सार्वजनिक गरेसंगै प्रदेश २ सरकारले पनि नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी थालेको छ । कोभिड १९ को कारणले गर्दा प्रदेश सभाको चालु अधिवेशन अन्त्य हुन नसक्दा सरकारले नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । ढिलाई भएपनि अधिवेशन अन्त्यपछि सरकारले असार १५ गतेसम्म ल्याइने बजेट र नीति तथा कार्यक्रमको तयारी सँगसँगै अघि बढाउने तयारी थालेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘कोभिडले अधिवेशन अन्त्य हुन सकेन । अब अधिवेशन अन्त्यपछि नीति तथा कार्यक्रम र बजेटको काम सँगसँगै अघि बढाइने छ ।’ 


सोमबार मन्त्रिपरिषदको बैठक बसेर अधिवेशन अन्त्यको मिति निर्धारण गरी प्रदेश प्रमुखलाई सिफारिस गर्ने उनले जानकरी दिए । कोभिडकै कारण अहिलेसम्म प्रदेश सभाको बैठक बस्न सकेको छैन ।  

जेठको अन्तिम सातातिर छैटौँ अधिवेशनको बैठकबाट छलफलका लािग प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिने र सो पारित लगतै बजेट पनि छलफलका लागि प्रस्तुत गरिने उनले बताए । चालु अधिवेशनमा चैत ३० गते र वैशाख १० गते गरी मात्र दुईवटा बैठक बसेका थिए । 

त्यसपछि वैशाख ११ गतेका लागि बोलाइएको बैठक कर्मचारी नै संक्रमित भएपछि वैशाख १४ गतेदेखि अनिश्चितकालिन स्थगित भयो । प्रदेश सभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु समेत आक्रोशित छन ।  सत्तारुढ दलका प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश सरकारले आफू अनुकुल बजेट ल्याउन अहिलेसम्म नीति तथा कार्यक्रम नल्याएको भनि आपति जनाएका छन । उनले भने, ‘प्रदेश सभाको कर्मचारीको बहाना गरी बैठक स्थगित गरेका छन । जबकि उनीहरु ठिक भएको हप्तौ दिन भइसकेको छ । कोभिड १९ महामारीको बहानामा हतार हतारमा बजेट ल्याएर पारित राउने सोचमा प्रदेश सरकार रहेको छ । 

सत्तारुढ दल जसपाका अर्का प्रदेशसभा सदस्य विन्देश्वर प्रसाद यादवले नीति तथा कार्यक्रमबारे छलफल नगरिएकोमा आपति जनाएका छन । ‘संसदीय अभ्यास अनुसार नीति तथा कार्यक्रम वा बजेटबारे कुन कुन विषय समेटिने भनी प्रदेशसभामा छलफल हुन जरुरी छ । तर कोभिड महामारीको बहानामा गत वर्षकै प्रक्रिया यसवर्ष सरकारले चाल्न लागेको छ’, उनले भने । 

प्रमुख प्रतिपक्षी दल एमालेकी प्रदेश सभा सदस्य मन्जु यादवले सतारुढ दल जसपाको आन्तरिक विवादका कारण अहिलेसम्म सरकारले प्रदेश सभाको बैठक बसाउन नसकेको भनी आक्रोश व्यक्त गरिन । यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि प्रदेश सभाको बैठक बस्न नसक्नुमा आपति जनाएका छन । 

आयोग छलफलमा व्यस्त 

ढिलाई भएपनि प्रदेश नीति तथा योजना आयोगले नीति तथा कार्यक्रम तयार पार्न विभिन्न दलका नेता तथा मन्त्रीहरुसँग छलफल अघि बढाएको छ । आयोगका उपाध्यक्ष भोगेन्द्र झाले कोभिड १९ महामारीका कारण ढिलाई भएपनि मन्त्रालयले बढाएको कार्यक्रमहरु समेटेर नीति तथा कार्यक्रम तयार पार्न विभिन्न दलका नेता तथा मन्त्रीहरुसँगको छलफल कार्य जारी रहेको बताए । 

प्रदेशसभा सदस्यहरुले आफुहरुसँग कुनै छलफल नगरिएको बारे उपाध्यक्ष झाले भने, ‘अहिले महामारीको समयमा बढीभन्दा बढी प्रदेशसभा सदस्यहरुसँग छलफल गर्न सम्भव छैन । त्यसैले ती दलका नेता र मन्त्रीसँग मात्रै छलफल अघि बढाएको हुँ ।’ कोभिड १९ महामारी भएका कारण स्वास्थ्य क्षेत्रमा केन्द्रित रहने गरी बजेट बनाउने तयारी रहेको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x