मधेश

प्रदेश २ सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने

सुभाष कर्ण |
जेठ १८, २०७८ मंगलबार १७:४८ बजे

फाइल तस्‍बिर

जनकपुरधाम: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याउने बजेटको आकार घट्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षभन्दा पनि कम हुने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए । संघीय सरकारबाट गत वर्षभन्‍दा कम वित्‍तीय हस्‍तान्‍तरण भएको र  कोभिड १९ महामारीका कारण राजस्‍व पनि कमै उठ्ने सम्भावना भएको हुनाले बजेटको आकार घटाउनु परेको उनको भनाइ छ । 

'संघले चालु आर्थिक वर्षभन्दा कम १३ अर्ब ९० करोड मात्रै वित्‍तीय हस्‍तान्‍तरण गरेको छ,' उनले भने, 'कोभिड-१९ नियन्त्रणका लागि जारी निषेधाज्ञाले राजश्वको प्रमुख श्रोत मालपोत कार्यालय र यातायात कार्यालय समेत बन्द रहेको हुनाले अनुमानित राजश्व उठन सम्भावना छैन । आयश्रोत नै नभएपछि बजेट फराकिलो कहाँबाट ल्‍याउनु ।'


स‌ंघीय सरकारले सुरुदेखि नै प्रदेश २ सरकारलाई विभेद गर्दै आएको बताए । जनसंख्याको आधारमा बजेट विनियोन नगरी कम जनसंख्या भएका प्रदेशभन्दा प्रदेश २ मा कम वित्‍तीय हस्‍तान्‍तरण गरेको गुनासो गरे । उनले संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई राजश्व बाँडफाँडमा कम्तिमा १५ प्रतिशत राजश्व दिनुपर्नेमा हालसम्म ५ प्रतिशत राजश्व मात्र दिँदै आएको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x