मधेश

बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदेश सांसदको उपस्थितिमा प्रदर्शन

सुभाष कर्ण |
मंसिर १०, २०७७ बुधबार १३:९ बजे

जनकपुरधाम : बालिका हत्या प्रकारणले उत्पन्न परिस्थितिका कारण महोत्तरीको बर्दिबासमा निषेधाज्ञा जारी गरिएको छ । मंगलवार बिहानैदेखि तनावग्रस्त रहेको अवस्था बुधवार बिहानसम्म सामान्य हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार बिहान ९ बजेदेखि बिहीबार ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

बर्दिबासको पुर्वमा रातु खोला, पश्चिममा माइस्थान चोक, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पातो चोक सम्म निषेधाज्ञा स्थानीय प्रशासनले जारी गरेका छन । निषेधाज्ञा तोडदै स्थानीयले प्रदर्शन जारी राखेका छन् । बालिका हत्यापछि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय झन आक्रोशित भीड बुधबार बिहानैदेखि प्रदर्शनलाई निरन्तता दिएका हुन ।


मंगलबार प्रदर्शनकारीहरु बालिका गुलाब साहको शव लिएर प्रदर्शन गरिरहँदा प्रहरीले शव खोसेपछि प्रदर्शनकारीहरु झनै उग्र भएका थिए । प्रहरीले पोष्टमार्टमका लागि शव नियन्त्रणमा लिन र तनावग्रस्त अवस्था साम्य पार्न लाठी चार्जका साथै गोली प्रहारसमेत गरेको थियो ।

प्रहरीले चलाएको गोली लागि तीन जना घाइते भएको थिए । घाइते मध्ये बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाडौमै मंगलबार अबेर राति मृत्यु भएको थियो ।

न्यौपानेको मृत्यु भएपछि बर्दिवासका स्थानीय सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै सडक जाम गरेर प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनमा प्रदेश २ का प्रदेशसभा सदस्य शारदा थापाको समेत उपस्थिति रहेको छ ।

र, यो पनि
- बर्दिवासमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक
महोत्तरीमा प्रहरीको गोली लागेका घाइतेको मृत्यु
अदालतबाट धरौटीमा छुटेपछि बालिकाको बलात्कार गरी हत्या
बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते
बलात्कारपछि बालिकाको हत्या आशंकामा प्रदर्शन

यसैबीच प्रहरीको गोली लागेर ४० वर्षीय बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि बर्दिबासमा बसेको सर्वपक्षिय बैठकले न्यौपानेलाई शहिद घोषणा गर्नु पर्ने माग गरेको छ ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपुर्ती दिनु पर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने, सरकारसँग माग पुरा गर्न सरकारसँग वार्ता गर्न टोली गठनसमेत गरेको छ । बैठकले कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वामा ११ सदस्यीय वार्ता टोली गठन गरिएको जनाइएको छ ।

आइतवार बेपता भएकी बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको गत सोमबार शव बरामद भएको थियो । बालिका गुलाबसाको बलात्कारपछि हत्या गरिएको आशंकामा स्थानीयले मंगलवारदेखि नै प्रदर्शन गरिरहेका छन । आक्रोशित स्थानीयले प्रहरी नियन्त्रणमा रहेका आरोपित अरुणकुमार साहको घर समेत जलाएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x