मधेश

तीन सातादेखि उठेन जनकपुरधामको फोहोर, नगरमा दुर्गन्‍ध फैलिँदै

सुभाष कर्ण |
जेठ ३१, २०७८ सोमवार १७:८ बजे

जनकपुरधाम : डम्पिङ्ग साइटको अभावमा जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तीन सातादेखि उठ्न सकेको छैन । फोहोर नउठ्दा नगरको अति व्यस्त सडक प्रादेशिक अस्पताल अगाडि, रामानन्द चोक, विद्यापति चौक, भानु चोकलगायत नगरको अधिकांश ठाउँ दुर्गन्धित भएको छ । 

उपमहानगरपालिकाबाट खटिएका सरसफाई कर्मचारीले फोहोरसडक किनारमा जम्मा गर्दै आएका छन् । हप्तौँदेखि उठ्न नसकेको फोहरले वर्षात्को पानीले गर्दा सँडेर गन्हाउन थालेको छ ।  सडकमा आवात-जावत गर्ने स्थानीयलाई समेत नाक थुनेर हिँड्नुपर्ने बाध्‍यता छ ।


ल्याण्डफिल्ड साइटको अभावमा उपमहानगरपालिकाले वर्षौदेखि नगरको खाली ठाउँ र स-साना कन्ट्रयाक्ट टेण्डरको आधारमा फाल्दै आएको थियो । पछिल्लो पटक दुई वर्षका लागि फोहोर व्यवस्थापनको ठेक्का लिएका घनश्याम चौधरीले वडा नम्बर २३ विन्घीमा फाल्दै आएका थिए । तर त्यहाँ स्थानीयवासीले विरोध जनाएपछि ठेकेदारले फोहोरउठाउनबाट अस्वीकार गरेका छन् ।

स्थानीय विनोद राउतले सम्बन्धित निकायले समयमै फोहोरव्यवस्थापन नगरे अर्को महामारी फैलिन सक्‍ने बताए । उपमहानगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएको बताए । तत्काल फोहोर व्यवस्थापन नभए संघर्षमा उत्रिने स्थानीय सरोज मिश्रले चेतावनी दिए । 

उपमहानगरपालिकाका उपमेयर रीता मिश्रले फोहोरव्यवस्थापनलाई निजीकरण गर्न करिब दुई महिनाअघि ठेक्का लगाएको बताउँदै ती ठेकेदारले फोहोर फाल्दै आएको ठाउँमा स्थानीयले विरोध गरेपछि उठ्न नसकेको बताइन् ।

'६ महिनाका लागि २ लाख ५० हजार रुपैयाँमा घनश्याम चौधरीलाई ठेक्का दिइएको थियो', उपमेयर मिश्राले भनिन्, 'उनले एक लाख २५ हजार रुपैया पेश्की समेत लिइसकेका छन् । तर एक महिना नबित्दै स्थानीयको विरोध भयो भनेर फोहोरनै उठाउन छाडियो । अब नयाँ सूचना निकालेर चाँडै फोहोरव्यवस्थापन गर्छौ ।' सरसफाई शाखा प्रमुख उपेन्द्र साहले पनि डम्पिङ्ग साइटको अभावमा फोहोर उठाउन नसकिएको बताए । अब नयाँ सूचना निकालेर फोहोर उठाइने उनले बताए ।

जनकपुरधाममा ल्याण्डफिल साइटको समस्या एक दशक अघिदेखिकै हो । २०७३ सालमा एडीबीको सहयोगमा सडक निर्माण गर्ने क्रममा ४८ करोड रुपैयाँ ल्याण्डफिल साइटका लागि छुटयाइएको थियो । तर राजनीतिक विवादका कारण त्यो पूरा हुन सकेन।

त्यसबेला धनुषाको नगरराइन नगरपालिकास्थित फुलगामामा ल्याण्डफिल साइटका लागि जग्गा छुटयाइएको थियो । त्यसका लागि गुठीलाई सवा करोड रुपैयाँ पेश्की समेत दिइयो । तर यहाँको उर्बर जमिन खराब हुने र दुर्गन्धले महामारी फैलिन सक्ने भन्‍दै अवरोध भएपछि त्यहाँ बन्न पाएन ।

त्यसपछि जिल्लाको धारापानी, जनकपुरधाम उपमहानगरपालिकाको शिवपुरस्थित ५२ विग्घा र भोइलमा समेत जग्गा छुटयाइयो । प्राविधिक टोलीले शिवपुर र भोइल दुवै ठाउँको जग्गा छनौट गरियो । तर शिवपुरमा एमाले नेता कार्यकर्ताहरूले ५२ विग्घाको ऐतिहासिकता समाप्त हुने भनी बनाउन दिएन । उता भोइलमा समेत तत्कालीन समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले ल्याण्डफिलले गर्दा यहाँ उब्जाउ जग्गा नष्ट हुने र दुर्गन्धले महामारी फैल्न सक्ने भनी बनाउन दिएनन् ।

त्यस यता उपमहानगरपालिकाले नगरभित्रको खाली ठाउँहरूमा फोहोर फाल्दै आएको थियो । विरोध हुँदा ठाउँ परिवर्तन गर्दै आएको महानगरले डेढ महिना अगाडि निजीलाई ठेक्का लगाएको थियो ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x