मधेश

जनकपुरधाममा कोभिड विशेष अस्पताल सन्चालनमा

सुभाष कर्ण |
असार ३, २०७८ बिहीबार १५:११ बजे

जनकपुरधाम : प्रदेश २ सरकारले जनकपुरधाममा आफ्नै कोभिड विशेष अस्पताल सन्चालनमा ल्याएको छ । जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर एक सय बेडको कोभिड विशेष अस्पताल सन्चालनमा ल्याएको हो ।
 
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज उद्घाटन गरेका छन् । गत १ वर्ष अघिदेखि नै कोभिड विशेष अस्पताल सन्चालन गर्न सरकारले प्रयास गरे पनि जग्गा हस्तान्तरणलगायतका विभिन्न अवरोधका कारण बन्‍न सकेको थिएन । 

अस्पतालको उदघाटन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टैसुरु गरिने बताए । शिक्षण अस्पताल सन्चालनका लागि गुठी संस्थानबाट जग्गा लिजमा लिएका मणिपालले एक दशकभन्दा बढी समयमा पनि अस्पताल सन्चालन गर्न नसकेकाले त्यसको लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल सुरु भइसकेको जानकारी दिए । 


समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे । एक सय बेडको भनिएको कोभिड विशेष अस्पताल २० वटा आईसीयू बेड, भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था समेत रहेको जनाइएको छ । अस्पताल सन्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीसहित एक सयभन्दा बढी कर्मचारी दुई साता अघि नै करारमा नियुक्ति गरिसकिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x