मधेश

भागबण्डा विवादले अड्कियो जसपा संसदीय नेता चयन, को-को छन् आकांक्षी ?

सुभाष कर्ण |
मंसिर १२, २०७७ शुक्रबार १३:४ बजे

फाइल तस्बिर

जनकपुरधाम : जनता समाजवादी पार्टी गठन भएको पाँच महिना बितिसक्दा पनि भागबण्डा विवादले संसदीय दलको नेता चयन गर्न सकेको छैन । मूलतः प्रदेश २ को पार्टी प्रदेश समितिको नेतृत्वमा कुरा नमिल्दा केन्द्रीय कार्य समिति र प्रदेशमा संसदीय दलको नेता चयन हुन नसकेको पार्टी स्रोतको दाबी भनाई छ ।

जसपाका तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीमध्य एकले प्रदेश समितिको नेतृत्व र अर्कोले संसदीय दलको नेताको दाबी गर्दै आएका छन । ‍‍


तर दुवै पार्टीले संसदीय दलको नेताभन्दा पनि प्रदेश समितिको नेतृत्वमा आ-आफ्नो कसरतमा जुटेका छन । जसको मुल उद्देश्य हो आगामी चुनावमा प्रदेश र स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टिकट बाँडने ।

प्रदेश समिति नेतृत्वकर्ताले नै प्रदेश र स्थानीय तहको उम्मेदवारको टिकट बाँडने विधानमा व्यवस्था रहेको कारण आ-आफ्ना पक्षका बढी उम्मेदवार बनाउने दाउमा तत्कालीन दुवै पार्टीले प्रदेश समितिको नेतृत्व पाउने दाउमा लागेका हुन ।

प्रदेश समिति गठन भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न सकिने प्रावधान रहेको कारणले नेतृत्व पाउने दुवैको नेतृत्व पाउने दाउले पनि संसदीय दलको नेता चयनमा ढिलाई हुन गएको जसपा पार्टी स्रोतको दाबी छ ।

गएको कात्तिक ३/४ गते सम्पन्न जसपाको सम्पन्‍न बैठकबाट कात्तिक २५ गते नै प्रदेश समिति समायोजन गर्ने भनी सपाबाट विजय यादव, रामसहाय यादव र राजपाबाट सुनिल रोहिता, मृगेन्द्र सिंह यादवसहितका ४ सदस्यीय समायोजन कार्यदल समिति बनाइयो । तर तिहारको कारणले सो समयावधि बढाएर मंसिर १० गते पुर्‍याइयो तर भागबण्डा मिल्न नसक्दा त्यो पनि खेर गएको कुरा नाम उल्लेख नगर्ने शर्तमा समितिका एक सदस्यले बताएका छन ।

एकता भई नयाँ पार्टी गठन भए पनि संसदीय दलको नेता नहुँदा गत ५ महिनादेखि दुवै पार्टीले प्रमुख सचेतक र संसदीय दलको नेताले पाउने सेवा सुविधा प्रदेशसभा सचिवालयबाट कानुन विपरित लिँदै आएका छन् ।

निर्वाचन आयोगले दुवै पार्टीले लिँदै आएको दोहोरो सेवा सुविधा रोक्ने उद्देश्यले प्रदेश २ प्रदेश सभा सचिवालयलाई साउन ३० र असोज ३० गते गरी दुई/दुई पटक एकीकरण भई नयाँ दल दर्ता भएको भन्‍ने जानकारीसहितको पत्र पठाइसकेको छ ।

प्रदेशसभा सचिवालयले पहिलो पटकको पत्रलाई वास्ता गरेन तर दोस्रो पटकको पत्र एक महिना ढिलो गरी पत्र बुझेर कात्तिक २६ गते तत्कालीन राजपा र समाजवादी पार्टीलाई दल एकीकरण भइसकेकोले छिटोभन्दा छिटो नवगठित संसदीय दलका नेता चयन गर्न सेवा सुविधा फिर्ता गर्न ताकेतासहितको पत्र पठाइसकेको छ ।

प्रदेश समिति नेतृत्वका लागि कसरत
पार्टीभित्र भागबण्डा नमिल्दै प्रदेश २ समितिको नेतृत्वका लागि नेताहरुको आन्तरिक तयारी स्वरुप दौडधुप सुरु भइसकेको छ । प्रदेश अध्यक्ष बन्‍न राजपाबाट मृगेन्द्र सिंह यादव, जितेन्द सोनल, सुरिता साह र समाजवादीबाट विजय यादव, रेणु यादव, शैलेन्द्र साह कसरतमा जुटेका छन ।

राजपाका मृगेन्द्र सिंह यादव राष्ट्रियसभा सदस्य एवं केन्द्रीय सदस्य हुन भने जितेन्द्र सोनल प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री एवं कार्यकारिणी सदस्य र सुरिता साह एवं केन्द्रीय सदस्य प्रदेशसभा सदस्य रहेका छन् । त्यस्तै सपाका विजय यादव प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं पार्टीका कार्यकारिणी सदस्य, रेणु यादव प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य र शैलेन्द्र साह प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन ।

विधानमा एक व्यक्तिले पार्टीमा दोहोरो पदीय सुविधा लिन नपाउने व्यवस्था रहेको कारण शैलेन्द्र साहबाहेकका आकांक्षीहरु कार्यकारिणी समिति र केन्द्रीय समितिको पदबाट राजीनामा दिई प्रदेश समितिको नेतृत्व लिन कसरतमा जुटेको कुरा पार्टी स्रोतको भनाई छ ।

राजपाका राजेन्द्र महतो समूहबाट मृगेन्द्र सिंह यादव र सुरिता साह दुवै आकांक्षी छन् भने महन्थ ठाकुर समूहबाट जितेन्द्र सोनल दाबी गर्दै आएका छन । तर राजेन्द्र महतो आफै प्रतिनिधिसभा संसदीय दलको नेताको आकांक्षी भएको चासो नलिएको राजेन्द्र महतोका एक विश्वासपात्र नेताको भनाई छ ।

उता सपाबाट विगतमा पार्टी फुटाउनेसम्म क्रियाकलापमा लागेको कारण रेणु यादवप्रति अध्यक्ष उपेन्द्र यादव संशकित छन भने आफै प्रतिनिधिसभा संसदीय दलको नेताको तयारीमा रहेको कारण केन्द्र र प्रदेश दुवैमा यादव हुँदा आलोचना हुन सक्ने भन्दै विजय यादवलाई भाव दिएका छैनन । तर नेताहरु आ आफ्नो लबीङमा जुटेका छन ।

संसदीय दल नेताका आकांक्षीहरु
सपाबाट विजय यादव प्रदेश अध्यक्ष नभए संसदीय दलको नेता पाउने दाबी गर्दै आएका छन । त्यस्तै राजपाबाट जितेन्द्र सोनलले पनि प्रदेश अध्यक्ष वा संसदीय दलको नेता दुवै मध्ये एउटा पाउनुपर्ने दाउमा दुवै पदमा दाबेदारी गर्दै आएका छन ।

यी बाहेक संसदीय दलका नेताका लागि सपाबाट वर्तमान दलका नेता मोहम्मद लालबाबु राउत, रामआशिष यादवले पनि आ आफ्नो दाबेदारी राखेका छन । राजपाबाट राजेन्द्र महतो समूहबाट उनकै भतिजो उपेन्द्र महतो, मनिष सुमनले संसदीय दलको नेताका लागि लबीङ गरिरहेका छन ।

तर संसदीय दलको नेता अर्थात प्रदेश २ सरकारको नेतृत्व कसको पोल्टामा जाने हो प्रदेश समिति समायोजनपछि मात्रै टुंगो लाग्‍नेछ । संसदीय दलको नेता चयनका लागि अध्ययन गर्ने उद्देश्यले गत महिना जनकपुरधाममा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकबाट मनिष सुमन, उपेन्द्र महतो, रानि शर्मा तिवारी, रामअशिष यादव सम्मिलित संसदीय दलको विधानका लागि मस्यौदा समितिसमेत गठन गरिएको थियो ।

समितिले गत कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्षद्वय ठाकुर र यादवलाई बुझाई सकिएको छ । यद्यपि सो प्रदेश समितिबाट नै सो विधान पारित गराउने व्यवस्था रहेको हुनाले अहिलेसम्म सो मस्यौदा पारित हुन सकेको समितिका एक सदस्यले बताएका छन ।

के गर्दैछ कार्यदल ?
पार्टी नेतृत्वकर्ता र कार्य समिति सदस्यहरुले प्रदेश समिति समायोजन प्रक्रियामा भइरहेको बताएका छन । 'प्रदेश समिति समायोजनको जिम्मा कार्यदललाई दिइ सकिएकाले उनीहरुले काम गर्दैछन्' जसपा अध्यक्ष उपेन्द्र यादवले इकागजसँग भने ।

कात्तिक २५ गतेसम्मको समयावधि तोकिएकोमा समायोजन किन हुन सकेन भन्‍ने जिज्ञासामा उनले विभिन्न कारणबस् समयावधि मंसिर १० गतेसम्म बढाइएको थियो । तर त्यस अवधिमा सम्भव हुन नसक्दा पुनः बढाइएको उनले बताए । तर कहिले कुन मितिमा कहिलेसम्मको समयावधि बढाइएको बारे उनले खुलाउन चाहेनन् ।

त्यस्तै कार्यदल समितिका सदस्य विजय यादवले भने कार्यदलले समायोजन प्रक्रियामा कार्य गर्दैछ तर वरिष्ठ नेता राजेन्द्र महतो बिरामी परेपछि समयावधि लम्बयाइएको छ । संसदीय दलको नेता र प्रदेश समिति नेतृत्वकर्ताको लबीमा तपाईको पनि नाम आइरहेको छ भन्ने विषयमा उनले कुरा गर्न चाहेनन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x