मधेश

प्रदेश-२ का राज्यमन्त्रीहरू : 'पावर' दिनुपर्ने/बढाउनुपर्ने माग

सुभाष कर्ण |
असार १७, २०७८ बिहीबार २०:५४ बजे

जनकपुरधाम : प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले आफुहरूकाे कार्यक्षेत्रकाे दायरा बढाउनु पर्ने माग गरेका छन् ।उनले  आफूलाई हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

राज्यमन्त्री कुशवाहाले आफूलाई हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवसँग असन्तुष्टि पाेखे । उनले भने, ‘राज्यमन्त्रीको हैसियत अनुसारको जिम्मेवारी मैले पाएको छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’ 


उनले राज्यमन्त्रीलाई ‘कामचलाउ’ रुपमा मात्रै राखिएको छ संवैधानिक व्यवस्था अनुसार कार्यक्षेत्रकाे दायरा बढाउनुपर्ने माग गरे । राज्यमन्त्री कुशवाहाले राज्यमन्त्रीकाे पनि आफ्नाे कार्यक्षेत्रकाे दायरा ताेकिएकाे छ । तर, काम गर्न कुनै जिम्मेवारी दिइएकाे छैन, हरेक काम मन्त्रीकै निर्देशनमा गर्नुपर्ने बाध्यता बनाइएकाे गुनासाे गरे ।

उनले भने,‘मन्त्रालयभित्र हुने कुनैपनि कामको आफूलाई कुनै जानकारी हुँदैन् । राज्यमन्त्रीलाई कुनै अधिकार नै दिइएको छैन् । हामी मात्र मन्त्रालयमा आएर कुर्सीमा बस्ने गरेका छौँ । 

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफू कार्यप्रति सन्तुष्ट रहेकाे बताए पनि जिम्मेवारी र कार्यक्षेत्रकाे दायरा बढाउनुपर्ने माग राखे । यस विषयप्रति आफ्नो असन्तुष्टि रहेको प्रतिक्रिया उनले दिएका छन् । सरकार सञ्चालनमा अहिलेसम्म सबैकुरा ठिकै रहे पनि धेरै सवालमा राज्यमन्त्रीको क्षेत्राधिकारको विषयमा अझै प्रष्ट गर्नुपर्ने आवश्यकता रहेकाे बताए । 

त्यस्तै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले आफ्नो मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबीच त्यस्तो कुनै मटमुटाव नरहेको बताइन् । उनले क्याविनेट मन्त्रीको निर्देशनानुसार नै राज्यमन्त्रीहरू चल्ने भएकोले सोही अनुसार आफूले काम गरिरहेको जानकारी दिइन् । 

अधिकार प्रत्यायोजनको सवालमा भने अझै केही दायरा बढाउनुपर्ने आवश्यकता रहेको धारणा उनले पनि व्यक्त गरिन् । प्रदेश-२ सरकारमा ६ जना राज्यमन्त्री मध्ये हाल तिनजना राज्यमन्त्रीहरू मात्रै रहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट एकमन्त्री र तीन राज्यमन्त्रीलाई गत जेठ २३ गते बर्खास्त गरेपछि अहिले तिनजना राज्यमन्त्रीहरु सिमित भएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x