मधेश

प्रदेश २ मा बलात्कार भयावह

किन बढ्‍दैछ बलात्कार ?

सुभाष कर्ण |
मंसिर १७, २०७७ बुधबार ६:५० बजे

जनकपुरधाम : प्रदेश २ मा बलात्कारका घटना भयावह रहेको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो वर्ष बलात्कारका घटना ह्वात्तै बढेको छ । गत साता महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको घटना एउटा उदाहरण मात्र हो ।

प्रदेश २ मा गत वर्ष कुल ४ सय ७७ वटा महिला तथा बालबालिकासम्बन्धी अपराधिक घटना भए । त्यसमध्ये ३ सय ९५ वटा बलात्कार एवं करणी उद्योग र ९० जना महिलाको हत्यासमेत भएको मुद्दा दर्ता भएका छन् । बलात्कार घटनामा जबरजस्ती करणीतर्फ २ सय ९० र करणी उद्योगतर्फ एक सय ५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले बताए । उनका अनुसार विभिन्न हिंसात्मक घटनामा ९० जना महिलाको हत्या भयो ।


गत आर्थिक वर्षमा भन्दा चालू वर्षको चार महिनामा ५० प्रतिशतको हाराहारीमा महिला तथा बालबालिकासम्बन्धी आपराधिक घटनाको मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जबरजस्तीकरणी, हत्या र अन्य घटना सहित २ सय २६ वटा महिला तथा बालबालिकासम्बन्धी आपराधिक घटनाको मुद्दा दर्ता भएको हो जसमध्ये बलात्कारतर्फ १ सय ४६ र करणी उद्योगतर्फ ४४ वटा गरी इक सय ९० वटा रहेका छन् ।  चालु आर्थिक वर्षमा उमेर समूहको हिसाबले १० वर्ष मुनिका बालिका ३, १० देखि १६ वर्षसम्मको किशोरावास्थाकी ६८ र १६ वर्षभन्दा माथिको महिला १ सय २० जना बलात्कारको शिकार भएको प्रसाईले बताए । यी घटनामा जबरजस्ती करणी गरी हत्या गरिएकोतर्फ १० वर्ष मुनिका २, १० वर्षदेखि १६ वर्षसम्मकी १३ र १६ वर्षभन्दा माथिका २९ जना छन् । जुन गतवर्षको अनुपातमा ३ महिनामा करीब ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

जिल्लागत रुपमा घटना
प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बलात्कारको सबभन्दा बढी धनुषामा २६ वटा मुद्दा दर्ता भएको छ । सप्तरीमा २०, सिरहामा २५, महोत्तरीमा २१, सर्लाहीमा १३, रौतहटमा १७, बारामा ११ र पर्सामा १३ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

त्यस्तै जबरजस्ती करणी उद्योगतर्फ सबभन्दा बढी सिरहामा १० वटा मुद्दा दर्ता भएको छ भने सप्तरी, धनुषा, महोत्तरीमा ६÷६ वटा, सर्लाहीमा ३, रौतहटमा ७, बारामा ४ र पर्सामा २ वटा मुद्दा कात्तिक मसान्तसम्म दर्ता भएको प्रवक्ता प्रसाईले जानकारी दिए ।

कारवाही प्रक्रिया तीव्र
बलात्कारको घटनामा ह्वातै वृद्धि भएसँगै प्रहरीले कारवाही पनि तीव्र पारेको प्रवक्ता प्रसाईले बताए । उनका अनुसार गत वर्षमा ३ सय ९५ बलात्कारको घटनामध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको छ । यस्तै घटनामा १ सय ४१ जना पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

किन बढदैछ बलात्कार ?
प्रवक्ता प्रसाईका अनुसार अपराधविरुद्ध आवाज उठाउनुपर्छ भन्ने जनचेतनामा आएको वृद्धि, लकडाउन, लागू औषध तथा मदिरा सेवन लगायतका कुलतले गर्दा विगतभन्दा चालू आर्थिक वर्षमा बलात्कारको घटना बढ्न गएको हो ।
उनले भने ‘लकडाउन अवधिले निम्त्यिाएको बेरोजगारी र घरमा खाली बस्दा आपसी रिसवीले गर्दा पनि यो वर्ष बलात्कारको घटना व्यपाक रुपमा बढेको हो, अधिंकाश बलात्कार घटनामा लागू औषध र मदिरा लगायतले सपोटिङ भूमिका निर्वाह गरेको अनुसन्धानको क्रममा देखिएको छ ।’

उनले अधिकांश बलात्कार घटनामा महिला तथा बालबालिका आफ्नो नातेदार र चिनजानबाट आपसी विवादकै कारण बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट देखिएको बताए । तर सामाजशास्त्रीहरुले बलात्कार घटना बढनुको प्रमुख नयाँ पुस्तामा बढेको मोबाइलको प्रयोग, ठाँटबाँट (ग्ल्यामर) र राजनीतिक दबाव दबाव तथा आर्थिक प्रलोभन रहेको बताउँछन ।

रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा सोसल साइन्सका प्राध्यापक अजय यादवले ईकागजसँग कुरा गर्दै भने, ‘वर्तमान अवस्थामा बलात्कार बढनुको प्रमुख कारण पश्चिमी सभ्यताको उत्तेजक पहिरन हो । अहिले नयाँ पुस्तामा मोबाइलको प्रयोग बढिरहेको छ जसको सदुपयोग भन्दा बढी अश्लील फिल्म तथा दृश्यहरु हेर्नुमा भइरहेको छ । अश्लिल फिल्म वा दृश्य हेरेपछि युवा पुस्तालाई सम्भोगको चाहनाले बलात्कार घटनासम्म गर्ने अवस्थामा पुर्‍याउँछ ।’

यसको साथै गोप्य अंग झल्किने खालका र शरीरका भागहरु देखिने गरी छोटो लुगा लगाउने अवस्थाले पनि युवा पुस्तालाई उतेजक बनाउने काम गरेको उनको भनाइ छ । यी अवस्थामा उत्तेजक बनेका युवा बलात्कार लागू औषध र मदिराको सहारा लिने गरेको सामाजशास्त्री यादवको भनाइ छ । त्यस्तै समाजसेवी अमरचन्द्र अनिलले राजनीतिक दबाव र आर्थिक चलखेलले कारवाही प्रक्रिया फितिलो हुन जाँदा घटनालाई प्रोत्साहित गर्ने गरेकाले वृद्धि भएको बताए ।

तथ्यांकभन्दा बढी घटना
बलात्कारका घटना बढदै गएको देखिए पनि प्रहरीको तथ्यांकभन्दा बढी घटना भइरहेको प्रहरी निकायकै भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईले प्रहरीमा दर्ता भएको मुद्दाभन्दा बढी बलात्कारसहितका महिला तथा बालबालिका अपराधिक घटना भइरहेको बताएका छन् । ‘अधिकांश घटना समाजिकस्तरमै राजनीतिक र आर्थिक दबावमा दबाउने प्रयास गरिन्छ,’ उनले भने, ‘केहीले समाजिक लोकलाजले गर्दा अपराध सहेर घटना लुकाउने गरेका छन् । तर हामीकहाँ दर्ता हुन आएका मुद्दा सार्वजनिक हुने गरेको छ ।’
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x