मधेश

धनुषामा सिचाई योजना सुरु

सुभाष कर्ण |
कात्तिक २, २०७७ आइतबार १२:३३ बजे

जनकपुरधाम : धनुषामा तीन सय ५० हेक्टर जमिनलाई सिंचाई पु¥याउन सिंचाई योजना सुरु भएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार विकास मंत्रालयको जलस्रोत तथा सिंचाई बिकास डिभिजÞन कार्यालय जनकपुरधाम धनुषाको नगराईन नगरपालिकाको जटहीमा पीपरा मईन सिंचाई योजना अन्तर्गत निर्माण सुरु भएको हो ।

उक्त योजनाको धनुषा क्षेत्र  ३ का संघीय सांसद राजेन्द्र महतो र मा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार संयुक्त रुपमा शिलान्यास गरे ।


आर्थिक वर्ष २०७९/८० सम्म दुई वर्षमा सम्पन्न गरिने साढे ११ करोड रुपैयाको लागतमा निर्माण हुने उक्त योजनाबाट नगराई नगरपालिकका जटही क्षेत्रसहित पाँच सय १० घरपरिवारका किसानले खेतीपातीका लागि पानी प्राप्त गर्नेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता एवं सांसद महतोले सिचाई आभावका कारण कृषि प्रधानको रुपमा रहेका धनुषा सहित प्रदेश २ का जिल्लाहरुमा भूमि बन्जर हुँदै गइरहेको छ र किसानहरु विदेश पलायन हुँदै गइरहेकोप्रति राज्य गम्भीर नभएको आरोप लगाए ।

प्रदेश र नेपाल सरकार प्रदेश २ का बंजर हुँदै गएको भूमिलाई बचाउन यस्ता आयोजनाहरु निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आगामी वर्षमा प्रदेशका विभिन्न जिल्लामा समेत यस्ता सिचाई योजनाको निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा प्रमुख वरिष्ठ इन्जिनियर सि.डि.ई. भगवान झाले यो योजना निर्माण भइसकेपछि यहाँका किसानहरुलाई धान, गहुँ, तेलहन बाली उत्पादन गर्न सिचाईका लागि निकै सहयोग पुग्ने बताएका थिए ।

२२ मि लम्बाईको स्थायी जलाशययुक्त संरचनासहित दुई कि.मि लम्बाईको मूल नहर रहने उक्त योजनाको पानीको मुहान पिपरा मइन हुनेछ । झाका अनुसार उक्त मुहानबाट वर्षभरि नै पानी जम्मा हुनेछ ।

शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्र, नगराई नगरपालिकाका मेयर परमेश्वर यादव लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x