मधेश

सप्तरीमा नेपाल र सशस्त्र प्रहरीबीच झडप

सुभाष कर्ण |
मंसिर २४, २०७७ बुधबार १९:५३ बजे

राजविराज : सप्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप भएको छ । बुधवार दिउँसो  सप्तरीस्थित दशगज्जा क्षेत्रमा अनुगमनमा खटिएका सादा पोशाकका नेपाल प्रहरी  र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको हो । तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित दिउँसो सवा ३ बजे तिर सादा पोशाकमा पुगेका नेपाल प्रहरीका जवानले भारतीय बजार कुनौलीबाट सामानसहित आउनेहरूलाई रोकेर चेकजाँच गर्दा विवाद सुरु भएको थियो । 

विवादको क्रममा गाली गलौज, घम्साघम्सी हुँदै हतियार तानातानसम्म भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।  भारतसँग जोडिएका सिमा नाकाहरु ठप्प रहेको वेला सप्तरीस्थित नाकाहरूवाट खुलेआम तस्करी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट अनुगमनका निम्ती सादा पोशाकका टोली परिचालित भएको हो। 


झडपमा नेपाल प्रहरीका जवान बढी कुटिएको प्रहरी श्रोतले जनाएको छ । उता, बोर्डर आउट पोष्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुशील केसीले दुवै सुरक्षा निकाय बीच ‘मिस-अण्डर स्ट्याण्डिङ्ग’का कारण समान्य सोधपुछ मात्रै भएको विवाद नभएको बताए । 

यता, जिल्ला प्रहरी कार्यालयका डिएपी भुवनेश्‍वरप्रसाद साहले आफू मिटिङ्गमा रहेकोले सो विषयमा जानकारी नभएको बताएका छन् । 'म मिटिङ्गमा व्यस्त भएर सो विषयमा जानकारी भएन । तर दुवै प्रहरी  जवानबीच सामान्य विवाद भएको सुन्‍नमा आएको छ  ।बाँकी वुझ्दैछु, त्यसो भएछ भने दोषीलाई कारवाही हुन्छ,’ उनले भने । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x