मधेश

तलब भत्ता भुक्तानीकाे माग गर्दै सबैला नगरपालिकामा तालाबन्दी

सुभाष कर्ण |
मंसिर ३०, २०७७ मंगलबार १८:३५ बजे

जनकपुरधाम : कर्मचारी तथा जनप्रतिनिधिहरूले धनुषाको सबैला नगरपालिकामा गरेको तालाबन्दी दुई दिनदेखि जारी छ । कर्मचारी तथा असन्तुष्ट जनप्रतिनिधिले कर्मचारीको बक्यौता तलब, सामाजिक सुरक्षा भत्ता यथाशिघ्र उपलब्ध गराउन माँग गर्दै तालाबन्दी गरिएको हो ।

केही वडाको सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको, करारमा कार्यरत कर्मचारीहरूको एक वर्षदेखि बाँकी रहेको तलब पाउनु पर्ने भन्दै पीडित कर्मचारी र जनप्रतिनिधिहरूले सोमबार तालाबन्दी गरेका थिए । 


कार्यपालिका सदस्य राजु गुप्ताले माग सम्बोधन नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने बताए । उनले मेयर विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब बाँकी राखेर रकम दुरुपयोग गरेकोसमेत आरोप लगाए ।

गुप्ताकाअनुुसार मेयर साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीहरुको तलब बाँकी रहेको स्वीकार गर्दै चाँडै नै समस्या समाधान गरिने प्रतिवद्धता जनाए । मेयर साहले आन्दोलनरत पक्षसँग वार्ता भइरहेकोले पनि जानकारी दिए । 

बजेट शीर्षकमा कमजोरी भएका कारण कर्मचारीहरुको तलब बाँकी रहेको उनले दाबी गरे । ‘जहाँसम्म सामाजिक सुरक्षा भत्ताको कुरा छ, त्यो वडा सचिवहरूले विगतको भरपाई समयमै नबुझाएको कारण निकासा हुन सकेन,’ उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुरले जनप्रतिनिधिहरूको आपसी विवादका कारण नगरापालिकामा तालाबन्दी भएको बताए । ‘जनप्रतिनिधिहरूले आ–आफ्नो कोटाबाट करारमा कर्मचारी भर्ना गराएका छन् । तिनीहरूको म्याद थप लगायतका कागजी प्रक्रिया पुरा नभएको कारण तलब बाँकी रहेको हो,’ उनले भने । सामाजिक सुरक्षा भत्ताका विषयमा वडा सचिवहरूले विगतमा गरेको भुक्तानीको भरपाई हुनासाथ निकासा हुने उनले बताए ।

 यसअघि शिक्षकहरूले समेत कात्तिक ३ गते बक्यौता तलब भुक्तानीको माग गर्दै तालाबन्दी गरेका थिए । छलफल पश्चात उनीहरूको तलब भुक्तानी भएपछि साता पश्चात तालाबन्दी खोलिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x