मधेश

पुष ५ गतेदेखि धनुषा प्रशासनले नियमित सेवा सुरु गर्ने

सुभाष कर्ण |
पुस २, २०७७ बिहीबार १८:८ बजे

जनकपुरधाम : कोभिड–१९ संक्रमणका कारण स्थगित जिल्ला प्रशासन कार्यालय धनुषाका नियमित सेवा पुस ५ गतेदेखि पुनः सुरु हुने भएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट केही महिनादेखि अत्यावश्यक बाहेक नियमित सेवा स्थगित गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सम्पूर्ण नियमित सेवाहरु  भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर पुस ५ गतेदेखि सुचारु गरिने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए । प्रजिअ वास्तोलाका अनुसार राष्ट्रिय परिचय पत्रका सेवासहितका अन्य नियमित सेवाहरू आइतबार हंसपुर नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिनेछ ।


सोमबार नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी र क्षीरेश्वनाथ नगरपालिका, बुधबार जनकनन्दनी, लक्ष्मीनिया र औरही गाउँपालिकाको सेवाग्राहीलाई प्रदान गरिनेछ । त्यस्तै बिहीबार जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहरनिया र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका, शहिदनगर नगरपालिका एवं मिथिला नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने उनले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकामा सेवाग्राहीहरू संख्यात्मक रुपमा बढी हुने भएकोले यहाँका सेवाग्राहीलाई मंगलबार र बिहीबार गरी दुई दिन सेवा प्रदान गरिने उनले बताए । नियमित सेवा मध्ये यसअघि जारी रहेका नागरिकता सम्बन्धी कार्यहरू सबै दिन यथावत रहने प्रजिअ वास्तोलाले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x