मधेश

उपमेयरको घरमा भेटिइन् अपहरित बालिका

सुभाष कर्ण |
पुस २, २०७७ बिहीबार १८:५३ बजे

फाइल तस्वीर

जनकपुरधाम : महोत्तरी मनरासिस्वा नगरपालिका ६ का विनोद गामीले छिमेकी एक बालिकालाई अपहरण गरी बलात्कारको प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ । बुधबार साँझ ६ बजेदेखि आफ्नै घर मनरासिस्वा नगरपालिका-६ सरपल्लोबाट बेपत्ता भएकी १४ वर्षीया बालिका ३ घण्टा पश्‍चात हाथ-खुट्टा बाँधिएको अवस्थामा गामीको कम्पाउण्डभित्र रहेकाे शौचालयमा फेला परेकी थिइन्।

गामी उपमेयर रमिता प्रधानका श्रीमान हुन् । बालिकाका सम्पर्कविहिन भएपछि आफन्तले स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको संयुक्त टोलीले खोज्दै जाँदा उपमेयरको घरको शौचालयमा बालिका भेटिएको पीडित बालिकाकी आमाले बताइन् ।


यता आरोपित  गामीले भने आफूमाथि राजनीतिक प्रतिशोध साध्‍न यस्तो आरोप लगाइएको बताएका छन् । आफूहरूबीच पहिलादेखि नै विवाद रहेकोले षड्यन्त्रपूर्वक बदनाम गराउन निराधार आरोप लगाइएको उनले बताए । उनले घटनाको छानबिन पश्चात दोषी ठहरे सजाय भोग्‍न तयार रहेको बताए ।

यता घटनाबारे प्रहरीलाई सबै कुरा जानकारी गराउँदासमेत आरोपित गामीलाई पक्राउ नगरिएको पीडित बालिकाका आफन्तले बताए ।  पीडित बालिकाका अभिभावकसहित स्थानीयले इलाका प्रहरी कार्यालय वलवाबिरुद्ध नारावाजी गर्दै बिहीबार बिहानदेखि जलेश्‍वर-बर्दिवास सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषीलाई आवश्यक कारवाही गरिने जनाएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x