मधेश

‘मुख्यमन्त्री स्वच्छता अभियान’मा अनियमतिता भएको आरोप

इकागज |
कात्तिक १०, २०७८ बुधबार १३:५७ बजे

काठमाडौँ- प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको छ । स्थानीय तहको समन्वयबिना योजना छनौट गर्ने र आफुखुसी कार्यकर्ताहरुलाई योजना बाड्ने गरिएको कारणले अनियमतिता हुने गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ । 

प्रदेश नम्बर २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर यसमा रकम अनुसार काम नभएको स्थानियवासीहरुको गुनासो रहेको छ । माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । 


मन्दिरका पूजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेको थियो । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो । 

‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो । 

माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए । मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर स्थानियवासीहरुले त्यति रकम खर्च नभएको बताएका छन् । स्थानियवासीहरुलाई जानकारी नै नदिई सो काम गराइएको स्थानियवासीको भनाइ रहेको छ ।


मन्दिरको सौन्दर्यको नाममा रंगरोगन बाहेक केही पनि नगरिएको स्थानियवासीहरुले बताउने गरेका छन् । यता नगराईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताए ।

झाले प्रदेश सरकारले गर्ने कुनैपनि काममा आफूहरुसँग समन्वय नगरिएको बताए । उनले माधव ठाकुरमा भएको काम गुणस्तरहिन भएको दाबि पनि गरे । गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।    


Author

थप समाचार
x