मधेश

प्रदेश २ मा दाहाल-नेपाल समूह बलियो

सुभाष कर्ण |
पुस ७, २०७७ मंगलबार १३:४९ बजे

जनकपुरधाम : नेकपा विवादका कारण प्रतिनिधि सभा विघटन भएपछि प्रदेशमा पनि जोडघटाउ सुरु हुन थालेको छ । नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधव नेपाल समूहबीच जोडघटाउ सुरु भएको हो । 

यहाँ ओली समूहभन्दा दाहाल-नेपाल समूह बलियो देखिएको छ । प्रदेश २ मा ओली समूह प्रदेश सभा, केन्द्रीय समिति, स्थायी समिति र संघीय सांसदमा समेत कमजोर छ । प्रदेश सभामा नेकपाका ३२ जना सदस्य मध्ये ११ जना तत्कालीन माओवादी केन्द्रका रहेका छन् भने नेपाल समूहका ९ वटागरी दाहाल-नेपाल समूहमा २० र ओली समूहका १२ जना मात्र छन् ।


प्रदेश सभा सदस्य शत्रुध्‍न महतोले भने, ‘प्रदेश २ मा हामी मजबूत स्थितिमा छौं, तात्कालीन माओवादी केन्द्रका ११ र नेपाल समूहका ९ जनागरी २० जना प्रदेश सभा सदस्य छौं ।’

नेकपा प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप साहले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले प्रम ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनमतको अपमान गरेको आरोप लगाए ।

उता नेकपा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डल ओलीको विश्वास पात्र मानिन्छन् । उनी प्रधानमन्त्री ओली पक्षमा उभिएका छन् । प्रदेशमा स्थायी समिति रघुवीर महासेठ, मातृका यादव, गिरिराजमणि पोखरेल र सत्यनारायण मण्डल सहितका सदस्य ४ जना छन । जसमध्ये सत्यनारायण मण्डल बाहेक सबै दाहाल-नेपाल समूहकै हुन् ।

त्यस्तै ७० जना केन्द्रीय सदस्य मध्ये ६०/४० को भागवण्डाको हिसाबले २८ जना दाहाल गुटका करीब २० जना नेपाल समूहका गरी ५० जनाभन्दा बढी दाहाल नेपाल समूहका रहेका छन् । दाहाल समूह खुलेर आए पनि नेपाल समूहका केन्द्रीय सदस्यहरू प्रत्यक्ष रुपमा खुल्न चाहिरहेका छैनन् ।  

नेकपा प्रदेश २ संयोजक प्रभु साहले ओली समूहभन्दा दाहाल नेपाल समूह मजबूत रहेको बताए ।

 अहिले सबै केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र प्रदेश सभा सदस्यहरू काठमाडौ गएका छन । दाहाल नेपाल समूहका नेताले भने प्रतिनिधि सभा विघटनकोविरुद्धमा प्रदर्शन गर्दै आएका छन् ।

याे पनि : 

धरापमा गण्डकी सरकार, साना पार्टी ‘पर्ख र हेर’को अवस्थामा

संकटमा लुम्बिनी सरकार

सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत

‘प्रदेशले आफ्‍नै विवेक प्रयोग गर्नुपर्छ’ 

प्रदेश १ मा दाहाल–नेपाल समुहको बहुमत

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x