मधेश

मधेशमा फेरि गुञ्जियो जय मधेशको नारा

जनकपुरमा प्रधानमन्त्री र राष्ट्रपतिविरुध्द प्रदर्शन

सुभाष कर्ण |
पुस ८, २०७७ बुधबार १७:२० बजे

जनकपुरधाम : करीब ३ वर्षपछि तराईमा जिल्लाहरूमा जय मधेशको नारा गुञ्जिएको छ । पछिल्लो निर्वाचन पश्चात मधेशमा जय मधेशको नारा सुनिएको थिएन ।  तर प्रतिनिधि सभा विघटनपछि नयाँ निर्वाचनको मिति तोकिएपछि जनकपुरधामसहित प्रदेशमा जय मधेशको नारा सुनिन थालेको हो ।

बुधवार संसद विघटनको विरुध्दमा जनकपुरधाममा प्रधानमन्त्री र राष्ट्रपतिविरुध्द गरिएको विरोध प्रदर्शनमा जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा सुनिए । मधेश केन्द्रित जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले यस्तो नारा लगाएका हुन् । 


मधेश आन्दोलनबाट स्थापित तात्कालीन मधेश केन्द्रित दलहरूले राष्ट्रिय शक्ति बन्ने होडमा पार्टीका नामबाटसमेत मधेश शब्द हटाइसकेका छन् । मधेश आन्दोलनको क्रममा गठित मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी लगायतकाहरू विलिन भई जसपा निर्माण गरिएको छ ।

जसपाले विधानबाट समेत मधेश शब्दलाई हटाइसकेको छ, तर संसद विघटनपछि पुनः निर्वाचन आउन लाग्दा जनकपुरसहित तराई मधेशका जिल्लाहरूमा यस्ता नारा सुनिन थालेका हुन् । 

विरोध प्रदर्शन
प्रतिनिधि सभा विघटनविरुध्द पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरधाममा जनता समाजवादी पार्टीद्वारा गरिएको विरोध प्रदर्शनमा गुञ्जिएका यी नारालाई आम जनताले चुनावी नाराको संज्ञा दिएका छन् । जनकपुरधाममा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले र्‍यालीसहितको विरोध प्रदर्शन गरेको हो ।

जनकपुरधामको जनक चौकबाट नेता कार्यकर्ताहरूको सहभागितामा निस्केको र्‍याली नगर परिक्रमा गर्दै पुनः जनक चौकमै पुगी कोण सभामा परिणत भएको थियो । र्‍यालीमा जसपाका विभिन्न भातृ संघ संगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेश सभा तथा स्थानीय तह जनप्रतिनिधिहरूको सहभागिता थियो ।

र्‍यालीमा सहभागी नेता कार्यकर्ताहरूले प्रधामन्त्री ओली मुर्दावाद, राष्ट्रपति मुर्दावाद, संसद विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारेज गर र प्रम ओलीको निरकुंशताविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट होऔं लगायतका नारा लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेताहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीकोे गैरसंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरूले प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

उनीहरूले संविधान विपरीत प्रतिनिधि सभा विघटन गराएर प्रम ओलीले जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेकाले आरोपसमेत लगाए । यसविरुद्ध लोकतन्त्रिक शक्ति एकजुट भएर लाग्नुपर्ने उनीहरूको आग्रह थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x